काठमाडौं । नखीपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सहआयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता आगामी माघ १४ गतेदेखि हुने भएको छ ।
प्रतियोगिता चार डबल्स र एक सिङ्गल्स गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष इन्द्रजित लिम्बूले जानकारी दिए । पुरुष डबल्स ‘ए’ डिभिजन र ‘बी’ डिभिजन, यु–१७ ब्वाइज सिङ्गल्स, महिला डबल्स र भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा प्रतिस्पर्धा हुनेछ ।
पुरुष डबल्स ‘ए’ मा शीर्ष २० वरियताका खेलाडीले सहभागी हुन पाउने छैनन् । नेपाल ब्याडमिन्टन सङ्घसँग छलफल गरी पुरुष डबल्स ‘बी’ क्याटगोरीमा सहभागी हुन पाउने खेलाडीको टुङ्गो लगाइने आयोजकले जनाएको छ । महिला डबल्समा शीर्ष १० वरियताबाहेकका खेलाडीलाई अवसर दिइने छ ।
प्रतियोगिताको कुल पुरस्कार राशि रु तीन लाख ७० हजार रहेको क्लबका महासचिव पुष्पराज राईले जानकारी दिए । पुरुष डबल्स ‘ए’ मा पहिलो हुनेले रु ५० हजार, दोस्रोले रु २५ हजार र तेस्रोले रु १०÷१० हजार नगद पुरस्कार जित्ने छन् । पुरुष डबल्स ‘बी’, महिला डबल्स र भेट्रान डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ४० हजार, रु २० हजार र रु १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यु–१७ को विजेताले रु २० हजार, उपविजेताले रु १० हजार पाउने छन्
प्रतियोगितामा करिब ५० खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ । नखिपोटस्थित आयोजककै कभर्डहलमा हुने चारदिने प्रतियोगिता सञ्चालन गर्न करिब रु १८ लाख ४५ हजार खर्च हुने अनुमान गरिएको आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले बताए ।
आज आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबको प्रतिनिधित्व गरी विभिन्न घरेलु प्रतियोगितामा पदक जित्न सफल निसाम हाङमा लिम्बूलाई सम्मान गरिएको थियो । खेलकुद तथा विभिन्न सामाजिक कार्यमा सक्रिय नखिपोट युथ क्लब २०५६ सालमा स्थापना भएको हो ।

प्रतिक्रिया