काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विभाजनको डिलमा पुगेपछि आफूनिकट नेतहरूसँग छलफल गरेका छन् ।
सोमबार दिउँसो सभापति देउवाले आफू निकटका नेताहरुसँग छलफल गरेका हुन् । छलफलमा नेताहरुले सभापति देउवालाई महामन्त्रीद्वयसँग छलफल गर्न सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आग्रह गरेका छन् ।
छलफलमा सहभागी नेता मीनबहादुर विश्वकर्माले महामन्त्रीसँग छलफल गर्न सभापति र कार्यवाहक सभापतिलाई जिम्मा दिएको बताए । उनले महामन्त्रीहरूसँगको छलफल आजै हुने बताए । त्यस्तै बैठकमा सहभागी अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले संस्थापन पक्षको तर्फबाट सहमतिको ढोका खुल्लै रहेको बताए ।
उनले पार्टी गम्भीर अवस्थामा पुगेको पनि बताए । उनले भने, ‘अहिले मुलुक गम्भीर अवस्थामा छ । पार्टीको विधि, पद्धति र मान्यताहरू छन्, ती मान्यता अनुसार नै अघि बढ्नुपर्छ।’
नेता शशांक कोइरालाले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताए । उनले भने, ‘मिल्नका लागि प्रयास हुँदैछ । पार्टी कुनै हालतमा ब्रेक गर्न हुँदैन भन्ने हाम्रो धारणा हो ।’
विशेष महाधिवेशनले नीति र नेता बदल्ने तयारी गरेपछि देउवाले आफू निकटका नेताहरुसँग छलफल गरेका हुन् । यता महामन्त्रीद्वयलाई बन्दसत्रमा सहभागी प्रतिनिधिले पछि नहट्न दबाब दिएका छन् ।

प्रतिक्रिया