गगनलाई शंकर पोखरेलको जवाफः तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन्


काठमाडौँ । कांग्रेस दास र लासहरुको पार्टी नभएको भन्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति एमाले महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन् ।

सोमबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्ने बताएका हुन् । उनले ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘यसरी पनि सोच्न सकिन्छ—भूराजनीतिक स्वार्थका सामु लम्सार पर्नु दासता हो; त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो । विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता हो; त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो । संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जनजनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र ? हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन्। तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन् । ती स्पार्टाकस—जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन्।’

आइतबार विशेष महाधिवेशन उद्घाटनका क्रममा महामन्त्री थापाले आफ्नो पार्टी दास र लासको पाटी नभएको बताएका थिए । उनले भनेका थिए, ‘कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसको पार्टी हो। यहाँ कुनै बा छैन, जसले नबोल भन्दैगर्दा बोल्न छाड्ने कोही छैन। यहाँ सबै बराबर छन् ।’