तेक्वान्दो लिगमा ढल्को टोली च्याम्पियन


काठमाडौँ । काठमाडौँको ढल्को तेक्वान्दो डोजाङ बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा टोली च्याम्पियन बनेको छ । ढल्कोटोले सात स्वर्ण र एक रजत जित्यो ।

जिल्ला समन्वय समिति काठमाडौँको संयोजन, बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा दुई स्वर्ण, तीन रजत र दुई कास्यसाथ नुवाकोटको पोखरी तेक्वान्दो डोजाङ दोस्रो भयो ।

तेस्रो स्थानको काठमाडौँको लैनचौर तेक्वान्दो डोजाङले दुई स्वर्ण, एक रजत र दुई कास्य हात पार्यो ।
थलीस्थित आयोजक कागेश्वरी मनोहरा नगरपालिकाको हातामा भएको प्रतियोगिताको पुरुषमा ढल्कोका अर्पण लामा र महिलामा काठमाडौँको वेस्ट डिभिजनकी स्मारिका शाही ठकुरी उत्कृष्ट खेलाडी घोषित भइन् । दुईदिने प्रतियोगितामा २२७ खेलाडी विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई नगरप्रमुख उपेन्द्र कार्की, जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, बागमती प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । त्यस अवसरमा नगरपालिकाले बागमती प्रदेश तेक्वान्दो सङ्घलाई सहयोगस्वरुप ल्यापटप प्रदान गरेको थियो ।

लिगको यो दोस्रो संस्करणको पहिलो प्रतियोगिता हो भने समग्रमा पाँचौँ प्रतियोगिता हो । यसअघि लिगको पहिलो संस्करणमा चार प्रतियोगिता भएका थिए । लिगको हरेक संस्करणमा एक वर्षको अवधिमा तीन महिनाको अन्तरालमा एउटा प्रतियोगिता हुने गरेको छ । त्यसअन्तर्गत दोस्रो संस्करणमा पनि चार प्रतियोगिता हुनेछ ।

लिगमा हरेक तौल समूहमा पहिलो हुनेलाई १०, दोस्रोलाई सात र तेस्रोलाई तीन अङ्क प्रदान गरिने छ । चारवटा लिग सम्पन्न भएपछि खेलाडीको प्रदर्शनका आधारमा एक उत्कृष्ट पुरुष/महिला खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । मोटरसाइकल पुरस्कार र खेलाडीको सुविधाको व्यवस्थापन जिल्ला समन्वय समिति काठमाडौँले गर्ने जनाइएको छ ।

यस्तै, प्रदर्शनलाई मध्यनजर गरी दोस्रो संस्करणको चौथो लिगको समाप्तिमा हरेक तौल समूहमा शीर्ष तीन स्थानमा रहने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने जनाइएको छ ।