-डा. गोविन्दशरण उपाध्याय ।
एकजना प्रसिद्ध दार्शनिकले भनेका थिए ‘दार्शनिक जन्मिदा डराउनु पर्छ किनभने कि उसले ध्वस्त पार्छ कि दीगोनिर्माणको बाटो खोल्छ ।’ नेपालका हकमा ठ्याक्कै यही लागु भएको छ । तर नेपालमा जन्मेका कुनै दार्शनिकहरूका कारण होइन विदेशी दार्शनिकहरूले निर्माण गरेका सिद्धान्तहरू बोकेर नेपाललाई प्रयोगको थलो बनाएका कारण नेपालीले समस्या भोगिरहेका छन् ।
बाइसे–चौवीसे राजाहरूलाई पराजित गरेर, फकाएर र धम्क्याएर अहिले नेपाल भन्ने भूभाग राजा पृथ्वीनारायण शाहले जोडेका हुन् । त्यस बेलाको चलनअनुसार राजा नै राष्ट्रको सबैथोक हुन्थ्यो । राष्ट्रका सबै निर्णय राजाले गर्थे । राजा पृथ्वीनारायण शाहले नेपालका लागि ‘नेपाली राजनैतिक दर्शन’को स्थापना गरे । उनी देउता होइनन्, मान्छे हुन् र मान्छेमा हुने कमजोरीहरू उनीमा पनि थिए नै । तर पनि उनले नेपाल चलाउने विचार दिए । हो, अहिलेको समयमा त्यस बखत लेखिएका विचारहरू सर्वमान्य नहोलान् तर एउटा राष्ट्रका रूपमा दिव्यउपदेशले नेपालको जग बलियो बनाउने सूत्र दिन्छ, विदेशी राष्ट्रसंग सहकार्य गर्ने मोडल दिन्छ र देशको विकासका लागि घूस, बेइमानी र विदेशी निर्भरता अस्वीकार्य हुने सूत्र दिन्छ ।
जव राजनैतिक दलहरुले राष्ट्रनिर्माताको ‘राजनैतिक दर्शन’को उपेक्षा गरेर विदेशी राजनैतिक चिन्तन नेपालीमा थोपरे र त्यसलाई नै नेपालको विकासको मार्गदर्शनका रूपमा अङ्गीकार गरे, बैचारिक र सैद्धान्तिक रूपमा नेपाल विदेशी विचारको प्रयोगशाला बन्यो । साम्यवाद, समाजवाद, पूँजीवाद, धर्मनिरपेक्षता, समवेशीताआदि विदेशीले रोपेका ऐजरु हुन्, जुन ऐजरुहरूले देशलाई सधैं ‘अशान्त, अधीर र सधैं विदेशको जस्तै विकास हुनुपर्छ’ भन्ने मानसिक रोगी बनायो । पृथ्वीनारायण शाहले प्रष्ट भनेका थिए ‘असल कुरा विश्वको जुनसुकै कुनाबाट ल्याउनु तर कमसल कुराहरू अस्वीकार गर्नु ।’ तर दुर्भाग्य नै भन्नुपर्छ हामीले विदेशीको सिको गरेर उनीहरूका विचार, व्यबहार र जीवनदर्शनलाई आफ्नो बनाउने प्रयत्न गर्यौं तर पृथ्वी–पथसंग जोडेर असल कुराहरू रोज्नबाट चुक्यौं ।
मूल्य, सधैं अशान्ति, असन्तोष, नकारात्मक मनोविज्ञान र विदेशीको नक्कल गरेर मात्र देशको उन्नति हुन्छ भन्ने अध्विश्वासको भूमरीको निर्माण भयो । देश सधैं अनन्त भूमरीमा फस्ने र विदेशी र स्वदेशी मिलेर देशलाई ‘प्रयोगशाला’ बनाउने प्रयोगले निरन्तरता पाइरहेको छ । नेपाली दर्शनका सिद्धान्तकार पृथ्वीनारायणलाई विश्वास गर्न छाडेबाट नेपालीले दुखपाइरहेका छन् ।
नेपालीहरूले विर्सेको दोश्रो व्यक्ति हो – जयपृथ्वी बहादुर सिंह । यिनी पनि भूरे–टाकुरे राजा नै थिए । शक्तिशाली राणाका ज्वाई भएर पनि ‘मानवतावाद’को बाटो रोजे । जय पृथ्वी बहादुरसिंहले आफ्नो समय भन्दा ५० वर्ष भविष्यको काम गर्ने आँट गरे । नेपालको पहिलो पाठ्यपुस्तक तयार गरे । आधुनिक विद्यालयको स्थापना गरे । पहिलो प्रेस निर्माण गरे । अन्ततः राणाहरूको कोपभाजन भएर भारतको बेंगलोर पलायन भए । त्यहाँ उनले विश्वको पहिलो मानवतावादी क्लव स्थापित गरे । विश्वभरी घूमेर “मान्छे भएर मान्छे“मानवीय बन्न आग्रह गरे ।
आजको नेपालमा विदेशी मानवाधिकारवादीहरूका बग्रल्ती संस्थाहरू खुलेका छन् । मानवाधिकारका नाममा जनताको मानसिकतामा आफ्नै छिमेकीप्रति विष बमन गर्ने प्रशिक्षण दिइरहेका छन् । नेपाललाई विश्वको सबैभन्दा ‘खराव देश’का रूपमा स्थापित गर्न सक्रिय छन् । नेपालमा संचालित मानवाधिकारवादीहरूका उपद्रोले गर्दा जनताहरूको मनोविज्ञान ‘घृणावाद’मा रुपान्तरित भएको छ । कुनै मान्छेलाई मानवीय सहयोग गर्नु भन्दा अधिकारका नाममा छिमेकीको तेजोवध गर्ने चरित्र विकास भएको छ । जेनजी–आन्दोलनको एउटा आरम्भविन्दू ‘चरमघृणावाद, अधिकारवाद र व्यक्तिगत स्वार्थवाद पनि हुन सक्छ । नेपालीहरूको दुर्भाग्य नै मान्नुपर्छ जेनजी आन्दोलनपछिको विषम अवस्थामा पनि स्वदेशी मानवतावादी जयपृथ्वीबहादुरको मानवतावादको कुनै चिन्तन हुँदैन । सबै मानवाधिकारवादीहरू खराव छैनन् तर जसले अधिकारवादका आवरणमा घृणावाद फैलाईरहेका छन्, जयपृथ्वी बहादुरसिंह तिनका लागि सबैभन्दा ठूला बैचारिक प्रतिद्वंदी हुन् ।
राजा पृथ्वीनारायण शाहको जन्मजयन्ति मनाउंदै गर्दा हरेक नेपालीले आत्मसात् गर्नुपर्छ कि राष्ट्रसंचालनमा राजाको र मानवतावादी चिन्तनमा र त्यसको कार्यन्वयनमा सिंहको बर्चश्व हुनुपर्छ । नेपालमा अनेकौं मानवाधिकारवादी संस्थाहरू छन् र स्वयं नेपाल सरकारको राष्ट्रीय मानवाधिकार आयोग पनि छ तर तेहा श्रीसिंहको फोटो देख्न र उनले लेखेको ‘Humanism’ देखा पर्दैन । न राजा पृथ्वीनारायण शाहले लेखेको राजनैतिक दर्शन ‘दिव्योपदेश’ नै पढ्न पाइन्छ ! पढ्नु र जान्नु पर्ने दर्शन र सिद्धान्त छोडेर विदेशी चिन्तनको पछाडी लागेपछि दुर्घटना त पर्छ नै । साच्चिकै भन्नुपर्दा राजा र सिंह दुवैका राष्ट्र दर्शन तथा मानवतावादको जगमा नउभिएसम्म नेपालीको उत्थान हुँदैन ।
म राणाकालीन वा राजाकालीन नेपाल असाध्यै उन्नत थियो भन्ने दावी गर्न मिल्दैन । त्यस बखतको विश्व र नेपाल उस्तै थियो । अन्य छिमेकी भन्दा नेपालमा विकासको गति तीब्र भएन, यो सत्य हो तर २०४७ को परिवर्तनपछि पनि विकासले गति लिएन अरू राजनैतिक विचारधाराहरूको प्रयोग भूमि बन्यो ।
जेन्जी–आन्दोलन र त्यसले निम्त्याएको अभूतपूर्व विनाशले २०४७ पछिका राजनैतिक शक्तिहरूले सर्वसाधारणमा विकास भएको ‘मानसिक–सेट’ भने प्रष्ट भएको छ । जेंजी–आन्दोलनको विस्फोटन र विनाश राजनैतिक शक्तिहरूले रोपेको ध्वंसात्मक मानसिक–सेटको विस्फोट हो ।
यो जेनजी कुनै संस्थाको नाम होइन राजनैतिक शक्तिहरूले रोपेको ध्वंसात्मक मानसिकता र राजनैतिक दलहरूका क्रियाकलापका कारण उब्जेको मानसिक असन्तोषको प्रतिफल हो । आश्चर्यको कुरा के हो भने देशलाई राजनैतिक सिद्धान्तहरूको प्रयोगशाला बनाएर ध्वंसात्मक, नकारात्मक र असन्तोषलाई मलजल गर्ने राजनैतिक नेतृत्वले आत्मआलोचना गर्न चाहन्न ।
अपरिपक्व राजनैतिक चिन्तन, व्यवस्थापकीय अनुभवको अभाव र असन्तोषले भरिएका जेंजीहरूले नेपाललाई वर्तमान असन्तोष, नकारात्मक मानसिक–सेट र ध्वंसात्मक चेतनाबाट मुक्त गरेर विकासको गति देलान् भन्ने विषयमा सुनिश्चित हुने अवस्था छैन । साथै, घरघर, टोलटोल र टाउको–टाउकोमा छलफल हुने ‘विदेशी एजेन्ट, विदेशी षड्यन्त्र, विदेशी चालचेल, विदेशी मोहोडाका सिद्धान्तहरूका माध्यमबाट सही र झूटो रुपमा जन्मिने अफवाहहरूले निर्मित हुने नकारात्मक मानसिकता र त्यसले निल्याउने घातक परिणामहरू’ नेपाल र नेपालीका लागि झनै दुर्भाग्यपूर्ण छन् । यी सिद्धान्तहरूले कुनै पनि नेपाली नागरिकलाई नेपालको नेतृत्व गर्न सधैं अवरोध खडा गर्ने छ । सत्य चाहे जे–होस् तर नेतृत्वप्रति सधैं नकारामक दृष्टिकोण र षड्यन्त्रकारी चिन्तनले राजनीति दीगो हुनै सक्दैन । अवको राजनैतिक शक्तिले यसमा पनि काम गर्नु पर्ने देखिन्छ । जेंजी–आन्दोलनलाई गालीगलौज गर्नेहरूकै क्रियाकलापले जेंजी–आन्दोलन जन्मेको हो भन्ने कुरा निर्विवाद स्वीकार गर्नुको विकल्प छैन ।
साच्चिकै भन्ने हो भने पुराना राजनैतिक शक्तिहरूले ‘झोले’को कल्याणको अनुभव छ तर त्यही नकारात्मक र विस्फोटक मनोविज्ञान बोक्ने जेनजीहरूले देशको निर्माण गर्छन् भन्ने विश्वास गर्न निकै मेहनत गर्नुपर्ने देखिन्छ । जनताले विकासको आशा गरेको २०४७ देखि निरन्तर निराशा भोग्नु पर्दा आशा कमजोर र निराशा बलियो देखिनु स्वाभाविक हो ।
मैले अन्त्यमा लेख्नुपर्छ ‘जेनजीले जनता बोलाए । जनता विश्वास गरेर आन्दोलनमा आए । जेनजीले बोलाएका व्यक्तिको भीडलाई व्यबस्थापन गर्न सकेनन् । आन्दोलनमा सबैले आफ्नो आक्रोश पोखे । नेपालले विनाश खेप्यो । तत्कालीन सरकारको तुलनामा जेनजीले बोलाएको भीड कम दोषी छ । विदेशी विचारको प्रयोगशाला बनेकै कारण नेपाल सधैं असजिलोमा पर्छ । गलत मान्छेहरूको हातमा राजनीति हुँदा देश जल्छ । गलत मान्छेले नेपाललाई विदेशी सिद्धान्तको प्रयोगशाला बनाउंदा नेपाल जलेको हो । तर जेनजीको हितैषी देखिने नयाँ पार्टीहरू पनि आधारभूत रूपमा ‘विदेशी राजनैतिक सिद्धान्त’हरूको बाहक नै देखिएकाले सुधारको आशा गर्न सकिन्छ, परिवर्तनको होइन ।

प्रतिक्रिया