रास्वपाले सहमति कार्यान्वयनको प्रक्रियामा इन्गेज गराएर मात्र राख्योः कुलमान घिसिङ


काठमाडौँ । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीले एकतर्फी सहमति तोडेको बताएका छन् ।

पार्टी अध्यक्ष नियुक्त भएपछि शनिबार साँझ पत्रकार सम्मेलन गरी अध्यक्ष घिसिङले आफूहरुले सहमति कार्यान्वयनका लागि १२ दिनसम्म कुरेको तर, सहमति कार्यान्वयन नभएको बताए । उनले संविधानका आधारभूत विषयमा सहमति कायम गर्न एउटा पूरक सम्झौता गरौं भन्दा पनि रास्वपासँग कुरा नमिलेको बताए ।

उनले सहमति कार्यान्वयन नहुँदा उज्यालो नेपालका शुभेच्छुक साथीहरूले धेरै पीडा बेहोर्नुपरेको बताए । उनले भने, ‘हाम्रा लागि १२ दिन अत्यन्तै पीडादायक रह्यो। यो अवधिमा उज्यालो नेपालका शुभेच्छुक साथीहरूले धेरै पीडा बेहोर्नुपरेको छ।’

उनले रास्वपाले सहमति कार्यान्वयनको प्रक्रियामा इन्गेज गराएर मात्र राखेको गुनासो गरे । उनले आफूले प्रधानमन्त्री वा पार्टी अध्यक्ष कुनै पनि पद नमागेको बरु साधारण सदस्य भएर बस्न पनि तयार रहेको बताउँदा पनि रास्वपाले नमानेको बताए ।

उनले मिडियामा आएका पदको बार्गेनिङ गरेको भन्ने कुरा सरासर गलत भएको बताए । उनले भने, ‘मैले प्रधानमन्त्री र पार्टी अध्यक्ष मागेको थिइनँ । साधारण सदस्य भएर बस्छु भन्दा पनि उहाँहरू मान्नुभएन ।अब हाम्रो आवश्यकता उहाँहरूलाई परेन । हामी नभए पनि अगाडि बढ्छौँ भन्नुभएछ ।’

अध्यक्ष घिसिङले रास्वपालाई अगाडि बढ्न शुभकामना दिँदै उज्यालो नेपालले अब आफ्नै बाटो लिने स्पष्ट पारे ।