एमालेले गर्यो भेनेजुएलामाथि अमेरिकी आक्रमणको विरोध


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भेनेजुएलामा गरिएको अमेरिकी हस्तक्षेप अन्तर्राष्ट्रिय कानुन विपरीत भएको बताएका छन् ।

महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले अमेरिकी हस्तक्षेप, राष्ट्रपतिलाई नियन्त्रणामा लिएको घटना र उनलाई अमेरिकामा चलाइएको मुद्दा अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशील र अन्तर्राष्ट्रिय न्याय र उत्तरदायित्वको विपरीत भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘ नेकपा (एमाले) हालै भेनेजुएलामा गरिएको अमेरिकी हस्तक्षेप, राष्ट्रपतिलाई नियन्त्रणामा लिएको घटना र उनलाई अमेरिकामा चलाइएको मुद्दा अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशील र अन्तर्राष्ट्रिय न्याय र उत्तरदायित्वको विपरीत ठहर गर्दछ र यसको विरोध गर्दछ । त्यसै गरी हालै युक्रेनको भौगोलिक अखण्डता विभाजित हुने गरी उसको अनुपस्थितिमा भइरहेका छलफल, ग्रिनल्याण्डलाई नियन्त्रणमा लिने प्रयास र युद्धविरामका बाबजुद गाजा र वेस्ट ब्याङ्कमा प्यालेस्टिनी जनतामाथि भइरहेको ज्यादतिप्रति आपत्ति प्रकट गर्दछ । बङ्गलादेशमा हिन्दु लगायत अल्पसङ्ख्यक समुदायमाथि भइरहेका निरन्तरका हमलाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनीहरुको सुरक्षाको प्रत्याभूतिका लागि ध्यानाकर्षण गर्दछ । म्यान्मारमा शीघ्रातिशीघ्र लोकतन्त्रको बहालीको माग गर्दछ ।’