दमौली। तनहुँको भिमादमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । भिमाद नगरपालिका–६ स्थित बेष्ट ब्वाई क्लबको आयोजनामा माघ १ देखि ५ गतेसम्म ‘फस्ट बेष्ट ब्वाइज भलि फेस्ट–२०८२’ प्रतियोगिता हुनलागेको हो ।
प्रतियोगितामा विजेता समूहले तीन लाख एक हजार ९९, उपविजेताले नगद रु दुई लाख एक सय ९९ पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष संसार अन्जान सुवेदीले जानकारी दिए । उनका अनुसार सान्त्वना हुने समूहलाई जनही ५०–५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले रु २० हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही १०–१० हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, मणिमुकुन्द भलिबल क्लब बुटवल, न्यु होराइजन स्पोट क्लब, घले हार्वेस्टिङ अष्ट्रेलिया (गोर्खा) र न्युटन कलेज काठमाडौँको सहभागिता रहने जनाइएको छ ।
स्थानीयस्तरमा खेलकुदको विकास, युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने तथा भिमादको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको अध्यक्ष सुवेदीको भनाइ छ ।
प्रतियोगितामा राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहनेछ । माघ १ गते समीक्षा अधिकारी र निश्चल दवाडी, माघ २ गते प्रकाश दुतराज, माघ ३ गते आश्मा विश्वकर्मा, अर्जुन सापकोटा र सविन राईको व्याण्ड, माघ ४ गते बद्री पङ्गेनी र शान्तिरानी परियारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया