कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्र, यो पार्टीलाई एकताबद्ध बनाउने प्रयास होः महामन्त्री शर्मा


काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशनको मिति दुई दिनमात्र बाँकी रहँदा काठमाडौँ उपत्यकाका विभिन्न सडक पार्टीका झण्डाले सिँगारिएका छन् ।

यही पुस २७ गतेदेखि सुरु हुने विशेष महाधिवेशनस्थल भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा मञ्च निर्माण, हल सजावटलगायतका प्राविधिक पक्षका कामहरू अघि बढाइएको आयोजक समितिले जनाएको छ ।
स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाले विशेष महाधिवेशनमा करिब एक हजार स्वयंसेवक परिचालन गरिने जानकारी दिए । ‘भृकुटीमण्डपमा आजैदेखि मुख्य मञ्च निर्माण सुरु भइसकेको छ’, कोइरालाले भने ।

आयोजकका अनुसार विशेष महाधिवेशनको सन्देश पार्टी कार्यकर्ता र आमनागरिकसम्म पुर्याउने अपेक्षा गरिएको छ । यसैगरी महाधिवेशनमा सहभागिताका लागि देशभरका जिल्लाबाट कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरू काठमाडौँ आउनेक्रम सुरु भएको आयोजक समितिको भनाइ छ ।

जनपरिचालन समितिका संयोजक जगदिश्वरनरसिंह केसीले उद्घाटन सत्रमा हजारौँको सङ्ख्यामा सहभागिता रहने जानकारी दिइ । कांग्रेसभित्र संस्थापन पक्षको असहमतिका बीच हुन लागेको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

यसैबीच शुक्रबार दिउँसो विशेष महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले पार्टीको विधान भए अनुसार नै विशेष महाधिवेशन आह्वान गरेको बताए । नेताद्वय चन्द्र भण्डारी र सुनिल शर्मालाई साथ लिएर पुगेका महामन्त्री शर्माले पार्टीलाई एकताबद्ध बनाउन आफूहरूले प्रयास गरिरहको बताए । उनले हस्ताक्षर गरेका ५४ प्रतिशतमध्ये २४ जनाले नाम फिर्ता लिएका र करिब ५ सय जना महाधिवेशन प्रतिनिधि थप हुने बताए।