काठमाडौँ । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफूले पदमा रहँदा देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रयास गरेको बताएका छन् ।
मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयमा बुधबार राति आयोजित पत्रकार सम्मेलनमा उनले समयको दृष्टिले अवधि छोटो भए पनि महत्त्वपूर्ण नीतिगत सुधारको बलियो जग बसालिएको बताए ।
‘इमान्दार प्रयास गरिए परिवर्तन सम्भव हुन्छ भन्ने आशा र विश्वास नागरिकमा जगाउन सकिएको छ’, घिसिङले भने, ‘सरकारको उपस्थिति कागजमा सीमित रहेन, मैदानमै देखियो । प्रत्यक्ष निर्देशन र सक्रिय नेतृत्वमा जनअपेक्षाअनुसारका काम भए ।’
घिसिङले आफूले लिएको राजीनामाको निर्णय माग्ने तथा जिम्मेवारीबाट विमुख हुने प्रयास नभई आत्मसम्मान, नैतिककता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता भएको बताए ।
‘पदमा रहँदा मात्रै होइन, पदबाट बाहिर रहेर पनि देश र जनताकोपक्षमा उभिनु नै साँचो कर्तव्य ठानेको छु’, उनले भने ।
घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा आफ्नो नाम उल्लेख भए पनि उक्त सहमति हालसम्म औपचारिक रूपमा कार्यान्वयनमा नआएको स्पष्ट पारे । आफ्नो समर्थन र सद्भाव रहँदारहँदै पनि आफूले आजसम्म कुनै राजनीतिक पार्टीका सदस्यता लिएको उनको भनाइ छ ।
राजनीतिक जीवनमा औपचारिक प्रवेश गरेपछि मात्रै पार्टी सदस्यता लिने आफ्नो स्पष्ट धारणा रहेको उल्लेख गर्दै उनले राजीनामापश्चात् सो पदमा आफ्नो मान्छेलाई नियुक्त गर्न दबाब दिएको भन्ने विषय भ्रामक भएको बताए ।
उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका घिसिङले भोलिदेखि आफ्नो सक्रिय राजनीतिक जीवन सुरु हुने स्पष्ट पारे । तीन वटा मन्त्रालयको जिम्मेवारी कारण आफ्नो राजनीतिक यात्रामा केही विराम लागेको जनाउँदै उनले आगामी दिनमा मुलुकमा रहेको बेथितीका विरुद्ध आवाज उठाउने बताए ।

प्रतिक्रिया