वासिङ्टन । कराकास र वासिङ्टनबीच भएको नयाँ सम्झौताअनुसार भेनेजुएलाले संयुक्त राज्य अमेरिकामा करिब दुई अर्ब डलर बराबरको कच्चा तेल निर्यात गर्ने भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । यो सम्झौता चीनतर्फ मोडिँदै आएका आपूर्तिलाई अन्यत्र केन्द्रित गर्ने र भेनेजुएलालाई उत्पादन कटौती गर्नबाट बचाउने रणनीतिक कदमका रूपमा हेरिएको छ।
ट्रम्पका अनुसार यसले भेनेजुएला सरकारले अमेरिकी तेल कम्पनीहरूका लागि प्रवेश खुला गर्नुपर्ने उनको मागप्रति देखाएको प्रतिक्रिया प्रतिबिम्बित गर्दछ। उनले कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जलाई भेनेजुएलाको तेल उद्योगमा अमेरिकी तथा निजी कम्पनीहरूलाई ‘पर्ण पहुँच’ दिन आग्रह गरेका छन्।
भेनेजुएलाकासँग भण्डारण ट्यांकरहरूमा राखिएका लाखौँ ब्यारेल तेल रहेका छन्, तर डिसेम्बर मध्यदेखि लागू अमेरिकी नाकाबन्दीका कारण ती आपूर्ति रोकिएका थिए। नाकाबन्दी राष्ट्रपति निकोलास मदुरोमाथि वासिङ्गटनले बढाउँदै लगेका दबाबका उपायमध्ये एक थियो, जुन हालै उनको पक्राउपछि झनै चर्किएको छ। भेनेजुएलाका वरिष्ठ अधिकारीहरूले यसलाई ‘अपहरण’को संज्ञा दिँदै अमेरिकामाथि देशका तेल स्रोत कब्जा गर्न खोजेको आरोप लगाएका छन्।
ट्रम्पका अनुसार भेनेजुएलाले ३ देखि ५ करोड ब्यारेल ‘प्रतिबन्धित तेल’ अमेरिकालाई हस्तान्तरण गर्नेछ, जसको बिक्री बजार मूल्यमै हुनेछ र सो रकम आफूले नियन्त्रणमा रही भेनेजुएला तथा अमेरिकी जनताको हितका लागि उपयोग गर्ने दाबी उनले गरेका छन्।
सम्झौता कार्यान्वयनको जिम्मा अमेरिकाका ऊर्जा सचिव क्रिस राइटलाई दिइएको छ। जहाजमा रहेका तेललाई उतारेर सिधै अमेरिकी बन्दरगाहमा पठाइने योजना बनाइएको छ। प्रारम्भिक चरणमा चीनतर्फ पठाउन तोकिएका केही कार्गो पुनः विनियोजन गर्नुपर्ने हुनसक्ने उद्योग स्रोतहरूले बताएका छन्।

प्रतिक्रिया