बीबीसी । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले भेनेजुएला संसद भवनमा अन्तरिम राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेकी छन् ।
डेल्सी रोड्रिगेजलाई राष्ट्रियसभाका नेता जर्ज रोड्रिगेजले शपथ ग्रहण गराएका थिए । शपथ ग्रहणको क्रममा उनले आफ्नो देशमा अवैध सैन्य आक्रमणपछि भेनेजुएलाका जनताले भोगेको अत्याचारप्रति शोक गर्ने बताइन् ।
उनले यो जिम्मेवारी भारी मनले लिइरहेको बताउदै अमेरिकी कारबाहीलाई राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सिलिया फ्लोरेसको अपहरणको रूपमा वर्णन गरेकी थिइन् । रोड्रिगेजले संवैधानिक राष्ट्रपति मादुरोको तर्फबाट कार्यवाहक राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेकी हुन् ।
शपथ ग्रहण पछि तुरुन्तै, भेनेजुएलाका नजिकका सहयोगी देशका कूटनीतिज्ञहरूले उनलाई बधाई दिएका थिए । यसैबीच, मादुरो समर्थकहरू राजधानी कराकासमा सडकमा उत्रिएका छन् । सयौं मानिसहरूले मादुरोको समर्थनमा भेनेजुएलाको झण्डा र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
यसअघि मादुरो र उनकी श्रीमतीलाई अमेरिकाले पक्राउ गरेपछि भेनेजुएलाको सर्वोच्च अदालत र सेनाले डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको रूपमा मान्यता दिएको थियो ।
डेल्सी रोड्रिगेज वामपन्थी नेता तथा पूर्व छापामार जर्ज एन्टोनियो रोड्रिगेजकी छोरी हुन्, जसले १९७० को दशकमा क्रान्तिकारी संगठन लिगा सोसियालिस्टा स्थापना गरेका थिए । डेल्सी रोड्रिगेजलाई निकोलस मादुरोको सबैभन्दा विश्वासिला नेताहरू मध्ये एक मानिन्छ ।

प्रतिक्रिया