काठमाडौँ । नेपाली कांग्रेसले विशेष महाधिवेशनको औचित्य गत मंसिर १५ गते नै स्वतः समाप्त भइसकेको भन्दै तल्ला कमिटीहरूलाई परिपत्र गरेको छ ।
मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेकाले सोही दिनदेखि नै विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै निर्वाचनमा केन्द्रित हुन प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र वडाहरुका लागि परिपत्र गरेको हो ।
परिपत्रमा पार्टीको १५ औं महाधिवेशन आउँदो वैशाख २८, २९, ३० र ३१ गते गर्ने तय भएको भन्दै सोही अनुसारको महाधिवेशन कार्यतालिका पठाइएको छ । परिपत्रमा निर्वाचनमा केन्द्रित हुन निर्देशनसमेत दिइएको छ ।
परिपत्रमा भनिएको छ, ‘अर्कोतर्फ २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरी समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूचीसहित मनोनयन दर्ता गरिसकिएको छ । यस सन्दर्भमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्र, पालिका, वडा एवं टोल तहका समिति तथा पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समिति एवं पार्टीका सदस्य, समर्थक र शुभेच्छुकहरूको सम्पूर्ण ध्यान यति बेला निर्वाचन केन्द्रित हुनु पर्ने वर्तमान अवस्था छ ।’





प्रतिक्रिया