काठमाडौँ । अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य कारबाही तथा आक्रमणप्रति नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार नेकपाका नेता गणेशमान पुनले वक्तव्य जारी गर्दै अमेरिकी आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा विश्व शान्तिका आधारभूत मान्यताहरूको ठाडो उल्लङ्घन भएको वक्तव्य उल्लेख गरिएको छ ।
यस्ता कार्यहरूले सम्पूर्ण विश्वलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गरेको नेकपाले बताएको छ । वक्तव्यमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाद्वारा भेनेजुएलाका संवैधानिकरूपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसलाई अपहरणको शैलीमा कब्जामा लिनु भेनेजुएलाका जनताको सार्वभौम अधिकारमाथि गरिएको गम्भीर हस्तक्षेप हो ।’
यस प्रकारका कार्यहरू लोकतान्त्रिक मूल्य, अन्तर्राष्ट्रिय मर्यादा र सभ्य विश्व व्यवस्थाका लागि पूर्णतः अस्वीकार्य छन् ।’


प्रतिक्रिया