रास्वपामा प्रवेश गर्न नागरिक उन्मुक्ति पार्टी रुपन्देहीका अध्यक्षसहित ३३ जनाले दिए राजीनामा


भैरहवा । । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् ।

पछिल्लो समय पार्टीको नेतृत्व तहबाट भएका कतिपय निर्णयहरु, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भिर असहमति जनाउँदै राजीनामा दिइएको जिल्ला अध्यक्ष तुल्सी थारुले जानकारी दिए ।

कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत पार्टी अघि बढेको महसुस भएकाले यस परिस्थितिमा सोही पार्टीमा बसिरहनु नैतिक रुपमा उपयुक्त नहुने निष्कर्षमा पुगेको थारुले बताए ।

पुस १९ गतेदेखि लागू हुने गरी पार्टीको सम्पूर्ण जिम्मेवारीहरुसहित साधारण सदस्यबाट समेत राजीनामा दिएको उनले बताए । सोमबार नाउपाका पूर्व पदाधिकारी र थरुहट/थारुवान संयुक्त संघर्ष समितिसहित आफूहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने उनले जानकारी दिए ।

राजीनामा दिनेमा जिल्ला अध्यक्ष थारुसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष राम बहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरी लगायत छन् ।