बैतडीमा थपियो मतदाता, बढाइयो पाँच मतदान केन्द्र


बैतडी । बैतडीमा पाँचवटा मतदान केन्द्र थपिएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँचवटा मतदान केन्द्र थपिएका हुन् ।

यहाँको सिगास गाउँपालिका– ४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका– ७ को केदारशीला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगरपालिका– ९ को केदार आधारभूत विद्यालय सीम लोडासौँ, शिवनाथ गाउँपालिका– ३ को श्रीपूर आधारभूत विद्यालय बछला र पाटन नगरपालिका– ५ को त्रिपुरेश्वर मावि कुलडामा मतदान केन्द्र थप भएको हो ।

त्यसैगरी, एउटा मतदान केन्द्र घटाइएको छ । मेलौली नगरपालिका– २ को कोटेश्वर आधारभूत विद्यालयमा रहेका दुईवटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र हटाइएको हो । गत निर्वाचनमा २१० वटा मतदान केन्द्र रहेकामा अब भने ११४ मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । मतदानस्थल भने साविककै १२९ नै कायम रहेको उनले बताए ।

गएको निर्वाचनमा २१० वटा मतदान केन्द्र रहेको बैतडीमा आगामी निर्वाचनका लागि २१४ मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए । मतदानस्थल भने साविककै १२९ नै कायम रहेका उनले बताए ।

जिल्ला सदरमुकाममा एउटा अस्थायी मतदान केन्द्र रहनेछ । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण सङ्कलनको काम गरिहेको छ ।

स्थानीय, प्रदेश र सङ्घमातहत रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, कारागारमा रहेका वा वृद्धाश्रममा रहेकाहरूको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख जोशीले बताए ।

जिल्लामा आगामी निर्वाचनका लागि १ लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् । यस वर्ष ६ हजार २१६ मतदाता थपिएका बताइएको छ । यसअघि १ लाख ५० हजार १५६ मतदाता रहेका थिए ।