सम्मानजनक बहिर्गमन नरोजी चुनावसम्म सभापतिमा टाँसिइरहने किन पलायो देउवामा लालच ?


-नारायण गाउँले ।

जेनजी आन्दोलनमा शारीरिक हिंसाको शिकार हुने शीर्ष नेतामध्ये देउवामात्रै थिए । यद्यपि उनी आफैं सरकारमा थिएनन् । पहिलो दल भएर पनि माओवादी या एमालेको सरकारमा सहयोगी हुने र उधारो प्रधानमन्त्रीको सहमति गर्नेबाहेक उनले राजनीतिलाई निर्देश गर्ने खुबी पनि राखेनन् । खुकुरी प्रहारबाट धन्नै ज्यान गुमाएका र ठूलो भौतिक क्षति बेहोरेका उनले उत्तेजित भएर खुकुरी हान्नेहरूको फोटो मिडियामा हाल्दै आफ्ना कार्यकर्तालाई बदला लिन हौस्याएनन् ।

जेनजी विद्रोहलाई परिचालित या गुन्डागर्दी भन्दै सार्वजनिक भाषण गरेनन् । त्यो उमेरमा सख्त घाइते भएर अस्पतालमा हुँदासमेत उनलाई आफ्नै पार्टीका नेताले खुलेर स्वास्थ्यलाभको कामना गरेनन्, घर खरानी भएका उनलाई देउवाकुटी बनाउन या सुरक्षित डेरा खोज्न मद्दत गरेनन्, तर उनले त्यसमाथि सार्वजनिक आक्रोश या व्यङ्ग्य गरेको पनि सुनिएन । कसैलाई कारबाही गर्नतिर लागेको पनि सुनिएन ।

कांग्रेसले सुरुमैं चुनावको समर्थन गरेर जेनजी विद्रोहलाई राजनीतिक मान्यता दियो । यसका महामन्त्री गगन थापाले राजनीतिक दलको पनि ठूलो कमजोरी रहेको स्वीकार गर्दै सच्चिन जरूरी रहेको वक्तव्य दिए । जसले गर्दा अन्तर्राष्ट्रिय रूपमा समेत जेनजी विद्रोह र नयाँ सरकारप्रति थुप्रै आशङ्का मत्थर भए ।

यसबीच कांग्रेसले त्यो विद्रोह या नयाँ सरकारलाई लिएर कुनै भड्किलो वक्तव्य, प्रदर्शन या गाली गरेको सुनिएन । आफ्नो घरमा जलेको त्यो पैसालाई ’एआई भिडियो’ भन्नेबाहेक उनको भाषा एकदम शान्त र सन्तुलित थियो । हो, मेरो पैसा जलेको हो भनेर त कसले पो भन्थ्यो र । त्यो अनुसन्धानले भन्ने नै छ । एआई भन्दै गर्दा पनि यस्तो बनाउनेहरू देश र लोकतन्त्रद्रोही हुन्, विदेशी तत्त्व हुन् भन्नेजस्तो उत्तेजक र पपुलिस्ट खाले वक्तव्य उनले दिएनन् ।

अरू बहाना जे जे भए पनि त्यो विद्रोह बारम्बार एउटै अनुहारले राजनीति कब्जा गरेकोमा थियो । क्रमभङ्गका लागि थियो । देउवाले कार्यवाहक सभापति अरूलाई दिएर सक्रिय राजनीति नगर्ने र अर्को पल्ट सभापति पनि नउठ्ने सङ्केत गरे ।
हामीले जान्ने भएदेखि सधैँ देउवामात्रै प्रधानमन्त्री भएको जस्तो हामीलाई लाग्छ । तर पछिल्लो २० वर्षमा उनी एक–एक वर्ष गरेर जम्मा दुई वर्ष प्रधानमन्त्री भएका थिए । त्यो पनि चुनावी सरकारको नेतृत्व गर्दै । त्यो पनि कांग्रेसको एकल सरकार थिएन ।

बीस वर्षमा १८ वर्ष त अरू नै प्रधानमन्त्री भए । तर पार्टी र सत्ताको वरपर उनलाई देखिरहेकाले त्यस्तो लागेको होला ।
विधानले अब फेरि सभापतिमा उठ्न दिन्नथ्यो । केपी ओलीजीलाई पनि दिन्नथ्यो । तर अन्यले झैँ विधान नै परिवर्तन गरेर उठ्नेतिर नजाने देउवाको सङ्केत स्वागतयोग्य थियो । आन्दोलनको मर्मसँग मिल्दो थियो । यहाँसम्म सबै ठीक थियो । बालेनलाई पक्रिने ग्रीन लाइट नदिएको भन्ने चर्चादेखि जेनजी विद्रोहसम्म उनको संयम र प्रस्तुति लोकतान्त्रिक थियो । नेपाली नागरिक समाजले त्यो अनुभूति गरेको पनि थियो ।

तर छोड्छु भनेको अनि संसद विघटन र चुनाव स्वीकार गरेको व्यक्तिलाई कसले के प्रलोभन र दबाब दियो अथवा आफ्नै मतिले त्यस्तो बाटो हिँडायो, उनले आफ्नो कार्यकाल सकिएपछि र बहुमत पार्टी सदस्यले माग गरेपछि पनि महाधिवेशन गराएर नयाँ नेतृत्व सुम्पिन भने सकेनन् । दुई वर्ष बाँकी हुँदै एमालेले महाधिवेशन गर्यो तर कांग्रेसले समय सकिएर पनि दुई पल्ट आफ्नो कार्यकाल आफैँ थप्ने काम गर्यो । यस्तो लिच्चड तरिकाले म्याद थप्दै आफ्नो कार्यकाल लम्ब्याउँदै गर्नु पक्कै लोकतान्त्रिक प्रवृत्ति होइन । आफूखुशी टिकट बाँड्न पाइने र आरजूलाई उपाध्यक्ष बनाउन पाइने भन्नेबाहेक यस्तो म्याद थपले के फाइदा होला र ? अन्तिमतिर पार्टी टुक्रिएको या पराजित भएको अवगाल त उनको टाउकोमा जाने नै भयो ।

सम्मानजनक बहिर्गमन नरोजी चुनावसम्म सभापतिमा टाँसिइरहने लालचको पछाडि ’संसद पुनःस्थापना हुन सक्ने र केपीजीले प्रधानमन्त्री बनाइदिने’ लालसाले काम गरेको हुन सक्छ । एक त यो असम्भव छ, यदि त्यस्तो भयो र देउवा प्रधानमन्त्री बने नै भने पनि स्वयं देउवा, कांग्रेस र यो व्यवस्थाका लागि त्यो ‘डेथ नेल’ हुनेछ । सबै पाएर पनि यो लालच भन्ने चीजले शून्यमा पुर्याउन सक्ने रहेछ । देउवाको राजनीतिक विसर्जन पार्टी र देउवा दुबैको इज्जत र अस्तित्व डुबाउन खोज्नेहरूको घेरामा डुबेर हुने देखियो ।