नयाँ जनादेश प्राप्त गरिसकेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छः प्रचण्ड


किमाथाङ्का । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताएका छन् ।

प्रेस सेन्टरले शनिबार खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक प्रचण्डले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताए ।

उनले निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको बताए ।

जेनजी युवापुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शङ्का गरिरहनुपर्ने अवस्था नभएको भन्दै दाहालले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दाबी गरे ।
काठमाडौँ फर्किनुअघि पत्रकारसँग कुरा गर्दै संयोजक दाहालले अहिलेकै सरकारले फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन गराउन सक्षम रहेको बताए ।

‘संविधानसभाबाट संविधान बनाउँदै गर्दा नै हामीले वाचा गरेका थियौँ, १० वर्षपछि संविधानको समीक्षा गरी संविधानमा भएका सकारात्मक र नकारात्मकका आधारमा संविधान संशोधन र परिमार्जन गर्नेछौँ’, उनले भने ।

जेनजी आन्दोलनको मर्मभावनाअनुसार अहिलेका राजनीतिक दलहरुले नयाँ जनादेशमा जानुपर्ने आवश्यकता भएको उनको भनाइ छ ।

निर्वाचनको प्रक्रिया सुरु भइसकेको संसद पुनःस्थापना नहुने र अहिले भएकै सरकारले निर्वाचन सम्पन्न गराउनुपर्ने धारणा व्यक्त गरे । नयाँ जनादेश प्राप्त गरिसकेपछि संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताए ।

नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता घोषणा कार्यक्रममा सहभागी हुन दाहाल र सहसंयोजक माधवकुमार नेपाल खाँदबारी आएका हुन् ।