किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचार काण्डमा गत नोभेम्बरमा एन्ड्री येरमाकले राजीनामा दिएपछि सैन्य गुप्तचर प्रमुख काइरिलो बुडानोभलाई शुक्रबार आफ्नो कार्यालयको नयाँ सैन्य प्रमुखको रूपमा नियुक्त गरेका छन् ।
युक्रेनमा ख्याति कमाएका ३९ वर्षीय बुडानोभलाई सन् २०२२ मा युक्रेनविरूद्ध चौतर्फी आक्रमण सुरु गरेदेखि रूसबिरूद्ध भएका साहसी आक्रमणको श्रृंखलाको श्रेय जान्छ ।
जेलेन्स्कीले सामाजिक सञ्जालमा भनेका छन्, “मैले बुडानोभसँग भेट गरी उहाँलाई युक्रेनी राष्ट्रपतिको कार्यालयको प्रमुखको भूमिका प्रस्ताव गरेको थिएँ ।’
द्वन्द्व अन्त्य गर्न अमेरिकी मध्यस्थतामा सम्झौताको ‘९० प्रतिशत’ तयारी पूरा भएको राष्ट्रपति जेलेन्स्कीले बुधबार घोषणा गरेका थिए ।
जेलेन्स्कीले भने, “यस समयमा युक्रेनले सुरक्षा मुद्दा, देशको भूगोलको रक्षा र सुरक्षा बलको विकास र वार्ताको कूटनीतिक मार्गमा बढी ध्यान केन्द्रित गर्न आवश्यक छ।”
“काइरिलोसँग यी क्षेत्रहरूमा विशेष अनुभव छ र परिणाम दिन पर्याप्त शक्ति छ,” उनले भने ।
जेलेन्स्कीका सल्लाहकार दिमित्रो लिट्विनले पत्रकारसँगको कुराकानीमा भने, “उहाँलाई राष्ट्रपतिको ‘चिफ अफ स्टाफ’मा नियुक्त गर्न औपचारिक प्रक्रिया सुरु गरिएको छ।
नियुक्त भएपछि बुडानोभले येरमाकको राजीनामापछि खालि रहेको राष्ट्रपतिको प्रमुख सैन्य सल्लाहकारको जिम्मेवारी सम्हाल्नेछन् । येरमाकले नोभेम्बरमा भ्रष्टाचारको व्यापक अनुसन्धानको एक भागको रूपमा अन्वेषकहरूले उनको घरमा छापा मारेपछि राजीनामा दिएका थिए ।
येरमाक जेलेन्स्कीका सबैभन्दा महत्त्वपूर्ण सहयोगी थिए । आलोचकहरूको नजरमा येरमाक किएभमा एक विभाजनकारी व्यक्ति थिए र उनले विशाल शक्ति जम्मा गरी निर्दयतापूर्वक आलोचनात्मक आवाजहरूलाई किनारा लगाएका थिए ।
दोस्रो विश्वयुद्धपछि युरोपेली भूमिमा सबैभन्दा घातक चार वर्ष लामो द्वन्द्वले दशौं हजार मानिसको ज्यान लिएको छ र युक्रेनी भूभाग ध्वस्त पारेको छ।

प्रतिक्रिया