काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ पुस १३ र १४ गते दलहरूले बुझाएको बन्दसूचीको नाम दुई वटा अवस्थामा परिवर्तन गर्न पाइने बताएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले समानुपातिक प्रतिनिधित्व नमिलेको अवस्थामा समानुपातिक प्रतिनिधित्व गराउने उद्देश्यले परिवर्तन गर्न पाइने र अर्को कुनै उम्मेदवारले नाम फिर्ता लिएमा मात्र परिवर्तन गर्न पाइने बताए ।
उनले भने, ‘नाम परिवर्तन गर्न पनि पाइन्छ तर दुई वटा अवस्थामा । एउटा समानुपातिक प्रतिनिधित्व नमिलेको अवस्थामा समानुपातिक प्रतिनिधित्व गराउने उद्देश्यले गर्न पाइन्छ । दोस्रो कुनै उम्मेदवारले नाम फिर्ता लियो भने त्यो ठाउँमा अर्को नाम पठाउन मिल्छ ।’
आयोगमा पेस भएको समानुपातिकको बन्दसूचीलाई निर्वाचन आयोगले १५ गतेदेखि २० गतेसम्म रुजु गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया