सियोल । उत्तर कोरियाली नेता किम जोङ उनकी छोरी किम जु एले पहिलो पटक कुम्सुसान समाधिस्थलको सार्वजनिक भ्रमण गर्दै पूर्व नेताहरू प्रति सम्मान व्यक्त गरेकी छन् । सम्भावित उत्तराधिकारीका रूपमा तयार पारिँदै आएकी मानिने जु एले आमाबुबासँगै समाधिस्थल पुगेको तस्बिर शुक्रबार राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेको हो ।
गत तीन वर्षयता राज्य मिडियामा उनको बढ्दो उपस्थितिका कारण विश्लेषकहरू र दक्षिण कोरियाली गुप्तचर संस्थाले उनलाई चौथो पुस्ताकी सम्भावित नेताको रूपमा अग्रसर गरिँदै गरेको आकलन गर्दै आएका छन्।
सेजोंग इन्स्टिच्युटका उपाध्यक्ष चेओङ सेओङ–चाङका अनुसार कुम्सुसान दरबारमा जु एको यो उपस्थितिलाई सत्तारूढ दलको आसन्न महाधिवेशनअघि उत्तराधिकारका संकेत स्वरूप किमको योजनाबद्ध कदमका रूपमा बुझ्न सकिन्छ।
जनवरी १ मा भएको भ्रमणमा किमसँग उनकी पत्नी री सोल जु तथा वरिष्ठ अधिकारीहरू पनि साथमा थिए। केसीएनएले प्रकाशित गरेका तस्बिरअनुसार मुख्य हलमा जु ए आमाबुबाबीच उभिएकी देखिन्छिन्।
राज्य समर्थित कोरिया इन्स्टिच्युट फर नेशनल युनिफिकेसनका विज्ञ होङ मिनका अनुसार उत्तर कोरियाले किमको ‘स्थिर पारिवारिक छवि’ देखाउन पत्नी र छोरीलाई प्रमुख औपचारिक कार्यक्रमहरूमा सँगै प्रस्तुत गर्दै आएको छ।
सन् २०१० को दशकको सुरुतिर जन्मिएको मानिने जु ए यस वर्षको नयाँ वर्ष समारोहमा सहभागी भएकी थिइन्। यसअघि सेप्टेम्बरमा उनी पहिलो पटक बाबुसँगै बेइजिङको विदेशी भ्रमणमा समेत गएकी थिइन्।
किम जोङ उनले आफ्ना हजुरबुबा तथा राज्यका संस्थापक किम इल सुंग र पिता किम जोङ इलको सम्झनामा महत्वपूर्ण मिति र वार्षिकोत्सवका अवसरमा कुम्सुसान समाधिस्थल जाने परम्परा कायम राख्दै आएका छन्, जसलाई वंशानुगत सत्ता संरचनाको प्रतीकात्मक पुष्टि मानिन्छ।
उत्तर कोरियाले जु एको उमेर भने औपचारिक रूपमा पुष्टि गरेको छैन। दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उनको उपस्थितिबारे टिप्पणी गर्न अस्वीकार गर्दै उमेर र औपचारिक पदको अभावमा अहिले नै उनलाई उत्तराधिकारी ठहर गर्न नसकिने जनाएको छ।

प्रतिक्रिया