अपेक्षा गरेभन्दा दोब्बरले गरे बन्दीपुर भ्रमण


तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउन सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको बन्दीपुरमा छ लाख ३४ हजार पर्यटक पुगेको संयोजक बैंसबहादुर गुरुङले जानकारी दिए ।

बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक गुरुङका अनुसार यस अवधिमा एक लाख विदेशीसमेत गरी चार लाख ५३ हजार पर्यटक बन्दीपुरमा बास बसेका थिए । उनले बन्दीपुरमा वजभोज खान आउने, घुमेर फर्किने पर्यटकको सङ्ख्या करिब दुई लाखभन्दा केही कम रहेको जानकारी दिए ।

बन्दीपुरमा सन् २०२५ र २०२६ मा गरी पाँच लाख पर्यटक बन्दीपुर भित्र्याउने योजना रहेकामा सन् २०२५ मा नै पूरा भएका स्थानीय होटल तथा पर्यटन व्यावसायी खुसी भएका छन् ।

“दुई वर्षमा पाँच लाख ल्याउने भनेर सोचेका थियौँ, तर एक वर्षमा नै लक्ष्य पूरा भयो”, भ्रमण वर्ष संयोजक गुरुङले भने, “काठमाडौँबाट पोखरा, पोखराबाट चितवन वा काठमाडौँ र चितवनबाट पोखरा जाँदा, आउँदा एकपटक बन्दीपुर बसौँ भन्ने भावना बढेको पायौँ ।”

आँबुखैरेनी–पोखरा सडक विस्तारको काम लगभग सकिने चरणमा पुग्दा पर्यटकलाई बन्दीपुर आउन पनि सहज भएको व्यवसायीको भनाइ छ । भ्रमण वर्षमा बन्दीपुरको प्रचारप्रसारको काम पनि राम्रो भएकाले पर्यटक बन्दीपुर आएको विश्वास उनीहरुको छ ।

बन्दीपुर होटल सङ्घ अध्यक्ष फूलमती थापाले भ्रमण वर्षमा आउने पर्यटकलाई कुनै पनि प्रकारको असुविधा नहोस् भनेर सबै होटल व्यवसायी अति नै जिम्मेवारपूर्ण ढङ्गले व्यवस्थापनमा लागेको बताए ।

स्थानीय रैथाने खानादेखि अतिथि सत्कारले पर्यटक खुसी बनेको उल्लेख गर्दै उनीहरूले भ्रमण वर्षबाट यहाँका होटलले आफूलाई अझै स्तरोन्नति गर्ने र सुविधा थप्दै लैजाने सोचको विकास गरेको जानकारी दिए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुर भ्रमण वर्षको प्रवर्द्धन तथा अन्य सहयोगमा पालिकाले सक्दो सहयोग गरेको बताए । बन्दीपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा चिनाउनका लागि भ्रमण वर्ष निकै सार्थक र फलदायी भएको थापाको भनाइ छ ।

उनले बन्दीपुरको प्राकृतिक सुन्दरता र यहाँको मौलिक कला संस्कृति हेर्न पर्यटकहरु पटकपटक आउने गरेको आफूले पाएको बताए। सामान्य खर्च गर्नसक्नेदेखि महँगो रकम तिर्नसक्ने दुवै पर्यटकका लागि बन्दीपुर उपर्युक्त गन्तव्य भएको अध्यक्ष थापाको भनाइ छ ।

आज डिसेम्बर ३१ का दिन सडक खाना महोत्सवसहित विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर भ्रमण वर्ष समापन गर्न आयोजक पक्ष लागिपरेको छ ।

स्थानीय टुँडिखेल, सहिद पार्क, सिद्ध गुफा, थानीमाई, खड्गमाई र विद्यवासिनी मन्दिर, मणि मुकुन्देश्वरी पदमार्ग, मिनी ग्रेटवाल, रानीवन, तीनधारा वनभोज स्थल, गुम्बा, रामकोट, कोरीखा, धरमपानी होमस्टे, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र, रेशमखेती, मौरीपालन र च्याउ उत्पादन केन्द्र बन्दीपुरका प्रमुख आकर्षण हुन् ।

नेवार, मगर, गुरुङलगायत जातजातिका सांस्कृतिक वेषभूषा र परम्परागत रीतिरिवाज पनि पर्यटकका लागि थप आकर्षण बनेका छन् । हिमालको लहर एकै फ्रेममा देखिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक बन्दीपुरमा रमाउने गरेका छन् ।

यहाँका होटल व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको छ । होटल सङ्घमा आबद्ध ८० भन्दाबढी होटल तथा एक दर्जन घरबास सेवा सञ्चालनमा छन् । साथै, अत्याधुनिक सेवा सुविधासहितको पाँचतारे होटल पनि सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।

डुम्रे बजारबाट करिब आठ किलोमिटर यात्रा गरेपछि पुगिने बन्दीपुर बजारमा हाल केबलकारबाट पनि पुग्न सकिने व्यवस्था छ । ठूलढुङ्गाबाट बरालथोकसम्म सञ्चालनमा आएको केबलकार सेवाले सात मिनेटमै पर्यटकलाई बन्दीपुर पुर्‍याउने हुँदा आवागमन थप सहज भएको छ ।