काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको छ । काठमाडौंको कोटेश्वर–३२ निवासी १०३ वर्षीया वृद्धाको मस्तिष्कमा देखिएको समस्या समाधान गर्दै दुर्लभ न्यूरोसर्जिकल सफलता प्राप्त गरेको अस्पतालले जनाएको छ ।
न्यूरो सर्जरी विभागका प्रमुख प्राडा राजीव झाको नेतृत्वको शल्यक्रियामा डा. समीर अर्याल, डा. नम्रता खड्का, डा. आयुष विमली, स्टार्फनर्स सिन्धु गौतमलगायत थिए । बिरामी हाल होसमा रहेको र बोल्नसक्ने अवस्था, आफैँ खाना खानसक्ने भएकी छन् ।
अस्पतालका अनुसार अस्तालमा आइपुग्दा समेत वृद्धा अचेत नै थिइन् । विस्तृत जाँच परीक्षणपछि उनको मस्तिष्कमा धेरै ठूलो रक्तस्राव भएको पत्ता लाग्यो, जसका लागि तत्काल न्यूरोसर्जिकल शल्यक्रिया आवश्यक थियो ।
अत्यन्तै उच्च र नाजुक उमेरमा मस्तिष्क शल्यक्रिया गर्नु चिकित्सकीय र नैतिक दुवै दृष्टिले ठूलो चुनौती थियो । बिरामीको परिवारले उनको बाँच्ने आशा नै गुमाइसकेको थियो । १०० वर्षभन्दा बढी उमेरका व्यक्तिमा सफल मस्तिष्क शल्यक्रिया हुनु विश्वमै अत्यन्तै दुर्लभ मानिन्छ, र यस्ता केही मात्र केसहरू रिपोर्ट भएका छन् ।


प्रतिक्रिया