देशमा अब अन्योल छैन भन्ने लागेको छ, सरकारलाई धन्यवाद भन्न चाहन्छुः प्रचण्ड


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले समानुपातिकतर्फको बन्दसूची बुझाएसँगै मुलुक निर्वाचनमा होमिएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सर्वपक्षीय राष्ट्रिय संवादमा प्रचण्डले यसबाट सबै दल निर्वाचनमा होमिएको स्पष्ट भएको बताएका हुन् ।

यसबाट निर्वाचन होला कि नहोला भन्ने अन्योल हटेको बताए । उनले भने, ‘देशमा अब अन्योल छैन भन्ने लागेको छ, सरकारलाई धन्यवाद भन्न चाहन्छु । धेरै खालका जटिलता झेल्दै निर्वाचनको दृढता प्रदर्शन गर्नुभयो । ‘के होला भन्ने अन्योल सकिएर निर्वाचनको तयारीतिर देश गएको छ । निष्पक्ष वातावरणमा निर्वाचन गर्नु र नयाँ जनादेश प्राप्त गर्नु आजको सबै कुराको चुरो हो ।’

उनले अब नयाँ संसद्मार्फत संविधानमा आवश्यक संशोधन गर्नुपर्ने बताए । जेनजी आन्दोलनपछि पहिलोपटक सबै राजनीतिक पार्टी, निजीक्षेत्र र जेनजी आन्दोलनका नेतृत्वकर्तासमेत सहभागी सर्वपक्षीय भेला भएको र यसले अब सहज वातावरण बनेको सन्देश दिएको उनले बताए ।

प्रचण्डले इतिहासले फेरि एकपटक परिस्थितिको सही ढंगले विश्लेषण गर्ने र सच्चिने मौका दिएको उल्लेख गरे । उने राष्ट्रिय राजनीतिक सहमतिबाटै मुलुकलाई निकास दिन सकिने भन्दै यसको वातावरण बनाउन महासंघले भूमिका खेलेको भन्दै धन्यवाद दिए ।

उनले निजी क्षेत्रलाई संरक्षण नगरे विकास र समृद्धिको कुरामात्रै हुने बताए । उनले निजी क्षेत्रलाई हेर्ने सोच र दृष्टिकोणको कमी भएको बताए ।

उनले भने, ‘लगानीमैत्री वातावरण बनाइएन भने विकास र समृद्धिको कुरा कुरा मात्रै हुन्छ । हाम्रो राज्य संरचना, हाम्रा सोचहरुमा कहीँ न कहीँ निजी क्षेत्र प्रति हेर्ने दृष्टिकोणमा कमी छ । यसलाई करेक्सन गर्नुपर्छ ।’