खर्च विवरण नबुझाउनेका विषयमा अहिले कुनै पनि निर्णय भएको छैनः आयोग


काठमाडौँ । निर्वाचन आयोगले यसअघिको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउनेका विषयमा अहिले कुनै पनि निर्णय नभएको बताएको छ । हालै विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित ‘निर्वाचन आयोगले दुःख दियो’, ‘चुनावी खर्च लुकाउने .. यसपाली उठ्न नपाउने’ जस्ता समाचार प्रकाशित भएपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी हाल जरिवानासम्बन्धी कुनै निर्णय नभएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हालै विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित ‘निर्वाचन आयोगले दुःख दियो’, ‘चुनावी खर्च लुकाउने .. यसपाली उठ्न नपाउने’, ‘निर्वाचनको कालो सूचीमा दलका उम्मेदवार’ लगायतका समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । प्रस्तुत विषयमा आयोगको मिति २०८०/०४/०९ समेतको निर्णयानुसार संवत् २०७९ सालको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार भई प्रचलित निर्वाचन कानून अनुसार निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेका हकमा जरिवानाको कारवाही गरी पुनः त्यस्तो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न आदेश दिने निर्णय भएको हो । सञ्चारमाध्यममा हालका दिनमा आएका समाचारहरुका सम्बन्धमा आयोगले यस विषयमा हाल जरिवानासम्बन्धी कुनै निर्णय गरेको होइन ।’

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गत निर्वाचनको खर्च विवरण सार्वजनिक गरेपनि नगरेको भनेर आयोगले फेरि सूचना जारी गरेको भन्दै सामाजिक संजालमा आक्रोश पोखेका थिए । त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले पनि खर्च विवरण नबुझाएको भन्दै सामाजिक संजालमा भाइरल बनाइएको थियो । तर थापाले २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको बताएका छन् ।