रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धका आधारमा वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औँ वार्षिकोत्सव समारोहलाई भैरहवामा सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय हवाई उडान नियमित गर्न विश्व समुदायको विश्वास आर्जन गर्न कूटनीतिक पहल अपरिहार्य रहेको जिकिर गरे ।
सङ्घीय सरकारले विमानस्थल सुचारु गर्न अविलम्ब ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले प्रदेश सरकार साझेदारी गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे । तर, प्रदेश सरकारले अघि सारेका प्रस्तावहरूमा सङ्घीय सरकारले हालसम्म कुनै निर्णय नगरेकोप्रति उनले असन्तुष्टि जनाए ।
‘लुम्बिनी प्रदेशमा जुन लक्ष्य र उद्देश्य राखेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो यसलाई नियमित सुचारु गर्नको निम्ति प्रदेश सरकारको तर्फबाट जोडदार रूपमा आवाज उठाउन चाहन्छु’उनले भने,‘ आज यही कारणले भोली हाम्रा व्यवसायी धरासायी हुनुहुँदैन । अन्तर्राष्ट्रिय कु नैतिक सम्बन्ध अगाडि बढाएर, विश्वास आर्जन गरेर यो विमानस्थल सुचारु गर्न जरुरी छ, गरिनुपर्छ । त्यसको निम्ति प्रदेश सरकारबाट के कति जिम्मेवारी लिनुपर्ने हो हामी तयार छौँ ।’
मुख्यमन्त्री आचार्यले परिणाममुखी ढङ्गले काम गर्न प्रदेश सरकार तयार रहेको बताउँदै व्यवसायीहरूका समस्या समाधानका लागि पटक पटक वार्ता भए पनि ठोस समाधान हुन नसकेको उल्लेख गरे। उनले सङ्घीय सरकार र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउँदै लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा राखिएको लक्ष्य र उद्देश्यअनुसार तत्काल नियमित सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे।
विमानस्थल नचल्दा स्थानीय व्यवसायी धरासायी हुने अवस्था आउन नदिन अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तार गरी विश्वास निर्माण गर्नुपर्ने उनको भनाइ थियो । आवश्यक परे प्रदेश सरकारले जिम्मेवारी लिन तयार रहेको भन्दै श्रम स्वीकृति दिने कार्यालय यही स्थापना गर्न, स्वास्थ्य जाँच प्रदेश सरकारले गर्ने समेत प्रस्ताव राखेको जनाए । तर, सङ्घीय सरकारले यस सम्बन्धी अधिकार नदिँदा ती काम अघि बढ्न नसकेको उनले बताए।
अन्तर्राष्ट्रिय स्तरका ट्राभल एजेन्सीहरूलाई भैरहवा ल्याउन, प्रभावकारी अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न र जहाज खाली नभई यात्रु भरिएर आउन सक्ने वातावरण बनाउन उनले जोड दिए । गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग विमानस्थललाई जोडेर विश्वभर सन्देश पुर्याउँदै पर्यटक आकर्षित गर्नुपर्ने आवश्यकता उनले आग्रह गरे ।

प्रतिक्रिया