युवामा आध्यात्मिक चेतना र राष्ट्रबोध जागृत गर्ने अभियान
काठमाडौँ । युवा पुस्तामा आध्यात्मिक चेतना, भक्ति भाव र सांस्कृतिक जागरण विस्तार गर्ने उद्देश्यका साथ आयोजित ‘आञ्जनेय कीर्तन कन्सर्ट’ काठमाडौँको जमल स्थित राष्ट्रिय नाचघरमा भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । मंगलबार अपराह्न ४ बजेदेखि सुरु भएको कार्यक्रममा ७ सयभन्दा बढी भक्तजन, युवा तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
भक्तिरसपूर्ण कीर्तन, सामूहिक भजन, जप तथा सांस्कृतिक प्रस्तुतिमार्फत युवालाई आध्यात्मिक यात्रामा जोड्ने लक्ष्यसहित आयोजना गरिएको यस कन्सर्टलाई परम्परागत भक्ति अभ्यासलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्ने सफल प्रयासका रूपमा हेरिएको छ । यो कार्यक्रम केवल सांगीतिक प्रस्तुति मात्र नभई युवालाई आत्मिक शान्ति, संस्कार, जीवन मूल्य र राष्ट्रप्रतिको उत्तरदायित्वबोध गराउने एक आध्यात्मिक तथा वैचारिक अभियान रहेको आयोजकले बताएको छ ।
कार्यक्रम नेपालका समाधिसिद्ध त्रिदण्डी स्वामी तारकब्रह्म पीठाधीश अनन्त श्रीविभूषित जगद्गुरु श्री रामानन्दाचार्य श्री स्वामी रामकृष्णाचार्य तथा महायोगी सिद्धबाबाको पावन उपस्थितिमा सम्पन्न भएको थियो । कन्सर्टकी परिकल्पनाकार आन्जनेय युथ क्लबकी अध्यक्ष एवं श्रीराम कथावाचिका चन्द्रकला सखीको दिव्य उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको सहभागीहरूले बताएका छन् ।

कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानिया प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो । साथै पूर्व मन्त्रीहरू, नेपाल सरकारका विशिष्ट अधिकारीहरू, पूर्व सचिवहरू, सुरक्षा निकायका वर्तमान तथा पूर्व उच्चपदस्थ अधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, शैक्षिक संस्था तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कन्सर्टमा भगवान गणेश, शिव, आञ्जनेय (हनुमान)प्रति समर्पित शक्तिशाली भजन, भावनात्मक कीर्तन तथा लयात्मक प्रस्तुति प्रस्तुत गरिएको थियो । प्रत्येक सुर र तालले साहस, विनम्रता, अटल विश्वास र राष्ट्रप्रेमको सन्देश दिएको सहभागीहरूको अनुभूति भएको बताए । आयोजकका अनुसार यसले युवालाई आफ्ना आध्यात्मिक जरा, आन्तरिक शक्ति र सनातन मूल्यतर्फ पुनः फर्कन प्रेरित गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महायोगी सिद्धबाबाले देशको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्नुभयो । उहाँले मुलुक गम्भीर मोडमा पुगेको उल्लेख गर्दै राष्ट्रको अस्तित्व, अस्मिता र पहिचानमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘आज देश गम्भीर संकटको घडीबाट गुज्रिरहेको छ । कतै राष्ट्रको अस्तित्व नै कमजोर हुँदै जाने त होइन भन्ने चिन्ता स्वाभाविक रूपमा उठ्न थालेको छ । नेपाल विदेशी तत्वहरूको खेलमैदान बन्ने त होइन भन्ने आशंकाको संवेदनशील समयमा प्रत्येक नागरिकले राष्ट्र-राष्ट्रियता, कर्म-कर्तव्य र आफ्नो उत्तरदायित्वबारे गम्भीर आत्ममन्थन गर्नुपर्ने समय आएको छ ।’
महायोगी सिद्धबाबाले नेपालको सनातन पहिचानलाई स्मरण गराउँदै भन्नुभयो, ‘वसुधैव कुटुम्बकम्’ नेपालको सनातन धर्म र सभ्यताको मूल आत्मा हो । नेपाल केवल भौगोलिक भूभाग होइन, यो सनातन संस्कृतिको केन्द्र हो । यस भूमिको कण–कणमा ईश्वरको वास छ । नेपाल तपोभूमि हो, ऋषि–महर्षिहरूको साधनाभूमि हो, जहाँबाट मानव सभ्यताले मार्गदर्शन पाएको छ ।’
उहाँले वर्तमान पुस्ताप्रति आशा व्यक्त गर्दै भन्नुभयो,
‘यस्तो कठिन घडीमा आजका युवाहरू राष्ट्र जोगाउन, संस्कार बचाउन र मूल्य-मान्यता संरक्षण गर्न तत्पर देखिनु अत्यन्त सुखद र आशावादी संकेत हो । राष्ट्रको भविष्य यही चेतनशील युवा पुस्ताको हातमा सुरक्षित रहनेछ।’
प्रमुख अतिथि मुख्यमन्त्री इन्द्र बहादुर बानियाले आध्यात्मिक चिन्तनसहितको भौतिक विकास अहिलेको समयको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,
‘कलियुगको वर्तमान सन्दर्भमा आध्यात्मिक चेतनासँग जोडिएको भौतिकतावाद अपरिहार्य छ । सनातन राष्ट्र निर्माणका लागि प्रतिष्ठानले अघि सारेको अभियान सराहनीय छ । बाग्मती प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत यस्ता अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्दछ ।’
महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका सचिव तथा ललितकला क्याम्पसका संगीताचार्य समेत रहनुभएका शिवराज पौडेलको सांगितिक संयोजनले कार्यक्रमको आध्यात्मिक गहिराइलाई थपेको थियो ।
आयोजक पक्षले यो कार्यक्रम केवल सांस्कृतिक मनोरञ्जनमा सीमित नभई युवाको अन्तर्मनमा शान्ति, संस्कार, जीवनका मूल्यमान्यता र समाज तथा राष्ट्रप्रतिको जिम्मेवारीबोध गराउने पवित्र अभियान भएको स्पष्ट पारेका छन्।
आञ्जनेय युवा कीर्तन कन्सर्ट आधुनिक भक्ति आन्दोलनको एक सशक्त अभिव्यक्तिका रूपमा स्थापित हुँदै ठूलो उपस्थिति र भावनात्मक ऊर्जा सहित सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमले सहभागीहरूमा आध्यात्मिक जागरण, सकारात्मक सोच र राष्ट्रप्रेमको चेतना थप प्रगाढ बनाएको आयोजकको विश्वास छ ।


प्रतिक्रिया