एनपिएल ट्रफी भैरहवामा


भैरहवा । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण उपाधि विजेता टोली लुम्बिनी लायन्सले आयोजना गरेको १५ दिने ‘ट्रफी सेलिब्रेसन टुर’ का क्रममा ट्रफी मंगलबार भैरहवा ल्याइएको छ ।

बाँकेको नेपालगञ्जबाट पुस ५ गतेदेखि सुरु भएको यो ‘टुर’ बर्दिया र दाङको तुलसीपुरबाट बर्दघाट हुँदै भैरहवामा ल्याइएको हो । भैरहवा अघि ट्रफीलाई बुद्ध जन्मस्थल लुम्बिनी पुर्याइएको थियो ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीका अनुसार यो ‘टुर(यात्रा)’ प्रदेशका हरेक नागरिकलाई खुसी बाँड्न आयोजना गरिएको हो । उनले पहिलो संस्करणमा सरोकारवालासँग सहकार्य गर्न नसकेको भन्दै सबै क्रिकेट सङ्घ र अन्य सङ्घ संस्थाको माया सराहनीय रहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले आफूले घोषणा गरेको ११ लाखको पुरस्कार रकम छिट्टै अर्को कार्यक्रम गरी विजेता टोलीलाई प्रदान गर्ने बताए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँन, उपप्रमुख उमा अधिकारी, रूपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले लुम्बिनी लायन्सले सम्पूर्ण प्रदेशकै सम्मान बढाएको बताए ।

‘ट्रफी टुर’ को क्रममा मस्कट र च्याम्पियनसिपको ब्यानर, भ्यानका अघि उभिएर फोटो खिचाउनेहरूको भीड लागेको थियो । यो ट्रफी भैरहवाबाट क्रिकेट टोलीको ‘होम ग्राउण्ड एक्स्ट्राटेक ओभल क्रिकेट ग्राउन्ड’मा विशेष उत्सवका लागि लगिनेछ ।