फ्लोरिडा वार्तापछि ट्रम्पलाई इजरायल शान्ति पुरस्कार दिने नेतान्याहुको घोषणा


फ्लोरिडा ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार फ्लोरिडामा दुई नेताहरू बिचको द्विपक्षीय वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च शान्तिका लागि इजरायल पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।

नेतान्याहूले इजरायली सरकारले ट्रम्पलाई शान्तिका लागि इजरायल पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताउँदै ८० वर्षमा पहिलो पटक यो पुरस्कार गैर–इजरायली नागरिकलाई प्रस्ताव गरि शान्ति श्रेणी थप गरिएको बताएका छन् ।

सोमबार फ्लोरिडास्थित ट्रम्पको निवास मार–ए–लागोमा भएको द्विपक्षीय वार्ता पछि ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा नेतान्याहूले यस्तो घोषणा गरेको बताइएको छ भने ट्रम्पले यस सम्मानलाई अप्रत्याशित र प्रशंसनीय भन्दै प्रतिक्रिया दिएको बताइएको छ ।

राष्ट्रपति डोनाल्ड जे ट्रम्पले इजरायली र यहूदी जनताका लागि गरेको अपार योगदानका लागि यो पुरस्कार प्रदान गरेको शिक्षा मन्त्रीले औपचारिक रूपमा घोषणा गरेको नेतान्याहूले पुष्टि गरे ।

‘यसले सम्पूर्ण क्षेत्रमा इजरायलीहरूको भावनालाई प्रतिबिम्बित गर्दछ, उनीहरूले इजरायललाई सहयोग गर्न र आतङ्कवादीहरू विरुद्धको हाम्रो साझा लडाइँको कदर गर्छन्’ उनले बताए ।

ट्रम्पले प्रतिक्रिया दिँदै पुरस्कार आश्चर्यजनक र धेरै सराहनीय रहेको बताए ।

इजरायल पुरस्कार देशको सर्वोच्च नागरिक सम्मान हो, परम्परागत रूपमा विज्ञान, कला र मानविकी जस्ता क्षेत्रमा उत्कृष्टताका लागि इजरायली नागरिकहरूलाई प्रदान गरिन्छ । यद्यपि शान्ति श्रेणी यस अघि कहिल्यै प्रदान गरिएको थिएन । जुलाई २०२५ मा, इजरायलले पुरस्कारका लागि ट्रम्पको छनोट गर्दै विदेशी नागरिकलाई सम्मान दिन अनुमति दिन पुरस्कार नियमहरू संशोधन गरेको थियो ।

पुरस्कार प्राप्त गर्न ट्रम्पले इजरायलको स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने अपेक्षा गरिएको सीएनएनले जनाएको छ । शिक्षा मन्त्री योव किस्चले ट्रम्पलाई औपचारिक रूपमा निर्णयको जानकारी दिएसँगै उनले समारोहमा उपस्थित हुने विचार व्यक्त गरे ।

दुई नेताहरूबिच मतभेद रहेको भएता पनि ट्रम्प र नेतान्याहूले कब्जा गरिएको वेस्ट ब्याङ्कसहित गाजा शान्ति योजनाको दोस्रो चरणबारे पनि कुरा गरेको ट्रम्पले बताए ।

यसैबीच नेतान्याहूले वार्ता अत्यधिक फलदायी भएको बताउँदै ट्रम्पको भूमिकाको प्रशंसा गरेका छन् ।