काठमाडौँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


काठमाडौं। काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

आज बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटार चोकस्थित सडकमा चक्रपथबाट बूढानीलकण्ठतर्फ जाँदै गरेको बा प्र०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप खाँडादेवी गाउँपालिका–३ का अवि श्रेष्ठको मृत्यु भएको हो।

दुर्घटनामा घाइते उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

यस्तै, आजै काठमाडौं महानगरपालिका–१२ टेकुस्थित सडकमा बागमती प्रदेश ०१–००१ य १७४३ नम्बरको ईभी गाडी र बा ९१ प ७५६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको बेथानचोक गाउँपालिका–२ का ३० वर्षीय दीपक बजगाईं रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।