कास्की । पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा जारी २२ औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’ राष्ट्रिय टेनिस प्रतियोगितामा कमल थापाले दोहोरो उपाधि जितेका छन् ।
थापाले ६५ वर्ष उमेर समूह माथिको एकल र ‘डबल्स’तर्फ उपाधि जितेका हुन् । ‘सिङ्गल्स’ फाइनलमा उनले पोखराका पदम गुरुङलाई ४–२, ४–२ ले पराजित गरे ।
‘डबल्स’तर्फ चाम्बा धोन्धुपसँग जोडी बनाएका थापाले विदुर विष्ट र ध्रुव गुरुङको जोडीलाई फाइनलमा ४–०, ४–१ को सेटमा पराजित गरी उपाधि हात पारेका हुन् । थापा पोखरामा हुने यस प्रतियोगिताको हरेक संस्करणमा नियमित रुपमा सहभागी हुँदै आएका छन् ।
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ‘मेन्स डबल्स’ फाइनलमा नेपाल नं १ प्रदीप खड्का र आयुष्मान हजुर घलेको जोडीले निहाल जङ्गबहादुर थापा र राजविर प्रधानको जोडीलाई ६–०, ६–१ ले पराजित गरी च्याम्पियन बनेका छन् ।
महिला खुलातर्फ सिवाली गुरुङले प्रशंसा मोक्तानलाई ६–०, ६–० ले सेमिफाइनलमा पराजित गर्दै सुनिरा थापासँग फाइनल भिडन्त पक्का गरिन् । सुनिराले प्रकृति श्रेष्ठलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरिन् ।
यसैगरी ५५ वर्षमाथिको समूहमा उत्तमकुमार शेर्पा र दीपेन्द्र प्रधानको जोडीले उपाधि जितेको छ । विमल गुरुङ र हिमाल शाहको जोडीलाई उनीहरुको जोडीले पहिलो र दोस्रो सेटमा ६–४, १–६ को बराबरीमा सकिएसँगै सुपर टाइमा पुगेको खेलमा उत्तम र दीपेन्द्रको जोडीले १०–८ ले जित हात पार्न सफल भएका हुन् ।
त्यसैगरी ३५ वर्षमाथिको इभेन्ट फाइनलमा जीतेन्द्र प्रधान र कुमार अधिकारीको जोडीले फाइनलमा सन्तोष खत्री र भीष्म जङ्ग गुरुङको जोडीलाई ६–४, ६–२ ले पराजित गरी च्याम्पियन भएका छन् । विजेता दुवै पूर्वनेपाल नं १ खेलाडी हुन् ।
यसैगरी ४५ वर्षमाथिको फाइनलमा देव क्षेत्री र हिमाल शाहको जोडीले फाइनलमा ७–६, ६–२ ले लेसारी गुरुङ र आशिष सिग्देलको जोडीलाई पराजित गर्दै उपाधि जिते ।
‘ओपन मेन्स सिंगल्स’मा नेपाल नं १ प्रदिप खड्का, आयुष्मान हजुर घले, करनबहादुर थापा, राजविर प्रधानले सेमीफाइनलको यात्रा तय गरे । क्वाटरफाइनलमा प्रदीपले प्रितम परियारलाई ६–१, ६–२ ले, आयुष्मानले निहाल जङ्गबहादुर थापालाई ६–२, ६–३ ले, करनले दर्शिल श्रेष्ठलाई ६–२, ६–२ ले, राजविरले युगेन शेर्पालाई ६–२, ६–१ ले पराजित गरेका हुन् ।
त्यसैगरी ३५ वर्षमाथिको एकल प्रतिस्पर्धामा जीतेन्द्र परियारले अनिल साईलाई ६–१, ६–३ ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गर्दा भीष्म जङ्ग गुरुङ, चन्द्र शाही र पेमा नोर्वुले अन्तिम चारमा स्थान तय गरे । खेलमा भीष्मले सोम रानालाई ६–१, ६–० ले, चन्द्रले विमल गुरुङलाई ६–३, ६–३ ले र पेमाले विकाश खड्कालाई ६–४, ६–२ ले पराजित गरे ।
४५ वर्षमाथि एकलतर्फ कमल भण्डारीले सिजर गुरुङलाई ६–२, ६–० ले र देव क्षेत्रीले रोहित सुनुवारलाई ६–४, ७–५ ले पराजित गरी उपाधि नजिक पुगेका छन् । प्रतियोगिताको फाइनल खेल मङ्गलबार सञ्चालन हुने प्रतियोगिता संयोजक नवीन चालिसेले जानकारी दिए ।

प्रतिक्रिया