सरकारका प्रवक्ता भन्छन्-व्यक्ति बनेर केही हुँदैन देश बन्नुपर्छ


गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन आउनुपर्ने बताएका छन् ।

विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार पोखरामा आयोजना गरेको विज्ञापनको अनुगमन, नियमन र व्यवस्थापनसम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रियाको उद्घाटन गर्दै उनले देश निर्वाचनतर्फ लागिसकेका अवस्थामा राजनीतिमा परिवर्तन ल्याउन सही नेतृत्व चयन गर्नुुपर्ने बताए ।

निर्वाचन सुनिश्चित भइसकेको भन्दै मन्त्री खरेलले आज राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाउने विश्वास व्यक्त गरे । व्यक्ति बनेर केही हुँदैन देश बन्नुपर्छ भन्दै उनले यसका लागि विवेकसङ्गत र सही नेतृत्व आउनुपर्ने आवश्यकता औँल्याए ।

सङ्घ र प्रदेशबीच अस्थिरता रहेको उल्लेख गर्दै उनले सङ्घीयताको व्यावहारिक कार्यान्वयन हुन नसकेको बताए । राजनीतिकको जग स्थानीय सरकार भएको बताउँदै मन्त्री खरेलले स्थानीय तह जवाफदेही हुँदा मात्र जनताप्रतिको जिम्मेवारी पूरा हुने स्पष्ट पारे ।

पेसागत सक्रियतासँगै परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय सरकारको अनुभूति जनताले गर्न पाउनुपर्ने बताए । 

विज्ञापनसँग सम्बन्धित नीति सुधारका लागि सरकारले सहजीकरण गर्ने बताउँदै मन्त्री खरेलले यसको व्यवस्थापन, अनुगमन र नियमनका लागि कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।