पोर्चुगलमा रोग रोकथाम र स्वास्थ्य सुधारमा पाँच वर्षे सफल अभियान


लिस्बन । पोर्चुगलले आफ्नो पहिलो कोभिड–१९ खोप अभियान सुरु गरेको पाँच वर्षको अवधिमा तीन करोड २० लाखभन्दा बढी खोप मात्रा वितरण गरेको छ । शनिबार सार्वजनिक स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कले यो जानकारी दिएको हो ।

राष्ट्रिय समाचार संस्था लुसाका अनुसार, पोर्चुगिज सार्वजनिक स्वास्थ्य समाजका अध्यक्ष तथा पूर्व स्वास्थ्य महानिर्देशक फ्रान्सिस्को जोर्जले यस उपलब्धिलाई ‘अत्यन्त सकारात्मक’ भन्दै खोप अभियानलाई निरन्तरता दिनु ‘आधारभूत आवश्यकता’ भएको बताए ।

उनकाअनुसार, औषधि तथा स्वास्थ्य उत्पादनसम्बन्धी पोर्चुगलको राष्ट्रिय निकायले सेप्टेम्बर २०२३ मा प्रस्तुत गरेको तथ्याङ्कअनुसार खोपका कारण पहिलो दुई वर्षमै करिब १२ हजार जनाको ज्यान जोगिएको छ ।

जोर्जले खोपको निरन्तर प्रयोग हुनु स्वाभाविक रहेको उल्लेख गर्दै, खोपहरू भाइरसका बदलिँदो स्वरूपअनुसार अनुकूलन हुँदै आएको बताए ।

यसैबीच, पोर्चुगलले यस साता मौसमी रुघाखोकी र कोभिड–१९ विरुद्धको संयुक्त खोप अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत २५ लाख जनालाई मौसमी रुघाखोकी र १५ लाख जनालाई कोभिड–१९ विरुद्ध खोप लगाउने लक्ष्य राखिएको छ ।