डर र अनिश्चितताबीच बुल्गेरियामा युरो लागू


सोफिया।  बुल्गेरियाले युरो अपनाउँदै युरो प्रयोग गर्ने २१औँ देश बन्ने तयारी गरेको छ । तर यो ऐतिहासिक कदमलाई लिएर देशभर डर र अनिश्चितता पनि उत्तिकै देखिएको छ ।

धेरै नागरिकले युरो अपनाउँदा मूल्यवृद्धि हुने र युरोपेली सङ्घ (इयु) को सबैभन्दा गरिब सदस्य राष्ट्रमा सामाजिक तथा आर्थिक अस्थिरता बढ्न सक्ने आशङ्का व्यक्त गरिरहेका छन् ।

यस वर्ष ‘बुल्गेरियाली लेभ जोगाऔँ’ भन्ने नारासहित विरोध अभियान नै चलाइएको थियो । यसले युरोप्रति जनसाधारणमा रहेको नकारात्मक धारणा र महँगीको डरलाई थप उजागर गरेको छ ।

तर पछिल्ला सरकारहरूले युरोजोनमा सामेल हुन निरन्तर जोड दिँदै आएका छन् । समर्थकहरूका अनुसार युरोले अर्थतन्त्रलाई बलियो बनाउने, पश्चिमी मुलुकसँगको सम्बन्ध सुदृढ गर्ने र रुसको प्रभावबाट टाढा राख्नेछ ।

एकल मुद्रा युरो सन् २००२ मा १२ देशबाट सुरु भएको थियो । त्यसयता यसको विस्तार हुँदै आएको छ । क्रोएसिया सन् २०२३ मा अन्तिम पटक सामेल भएको देश हो ।

बुल्गेरियाले भने राजनीतिक अस्थिरता, भ्रष्टाचारविरोधी आन्दोलन र बारम्बारका चुनावका कारण विशेष चुनौतीको सामना गरिरहेको छ । हालै कन्चरभेटिभ सरकार पतन भएपछि देश पाँच वर्षमै आठौँ चुनावको सङ्घारमा पुगेको छ ।

अल्फा रिसर्चका विश्लेषक बोर्याना दिमित्रोभाका अनुसार युरो अपनाउँदा देखिने कुनै पनि समस्यालाई इयु–विरोधी राजनीतिज्ञहरूले राजनीतिक हतियार बनाउने सम्भावना छ ।

उनका अनुसार यस्ता विषय इयु विरुद्धको बयानबाजीको आधार बन्न सक्छन् । अति–दक्षिणपन्थी र रुस समर्थक दलहरूले युरो विरोधी प्रदर्शनको अगुवाइ गरिरहेका भए पनि ग्रामीण र गरिब क्षेत्रका धेरै नागरिक नयाँ मुद्राप्रति स्वाभाविक रूपमा चिन्तित छन् ।

उत्तरपश्चिमी बुल्गेरियाको चुप्रेन गाउँकी किराना व्यवसायी ५३ वर्षीया बिल्याना निकोलोभाले पश्चिमी युरोपमा बस्ने साथीहरूबाट मूल्य बढेको अनुभव सुनेको भन्दै यहाँ पनि महँगी बढ्ने डर व्यक्त गरेकी छन् ।

युरोपेली सङ्घ (इयु) को युरोबेरोमिटर सर्वेक्षणअनुसार ४९ प्रतिशत बुल्गेरियालीहरू अझै युरोको विरोधमा छन् । सन् १९९० को दशकको अत्यधिक मुद्रास्फीति पछि बुल्गेरियाले आफ्नो मुद्रा जर्मन मार्क र पछि युरोसँग बाँधेको थियो । यसले देशलाई युरोपेली केन्द्रीय बैंकमा निर्भर बनाएको छ ।

ओपन सोसाइटी इन्स्टिच्युटका वरिष्ठ अर्थशास्त्री जोर्जी एन्जेलोभका अनुसार युरो अपनाएपछि बुल्गेरिया मौद्रिक सङ्घभित्र निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी बन्नेछ । सन् २००७ देखि इयु सदस्य रहेको बुल्गेरिया सन् २०२० मा क्रोएसियासँगै युरोको ‘वेटिङ रुम’ मा प्रवेश गरेको थियो ।

इसिबीकी अध्यक्ष क्रिस्टिन लेगार्डले युरोमा सामेल हुने लाभ ‘पर्याप्त’ रहेको बताउँदै सहज व्यापार, कम वित्तीय लागत र मूल्य स्थिरता मुख्य फाइदा भएको उल्लेख गरेकी छन् ।

उनका अनुसार साना तथा मध्यम व्यवसायहरूले मात्रै विनिमय शुल्कमा करिब ५० करोड युरो बचत गर्न सक्छन् । कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब आठ प्रतिशत हिस्सा ओगटेको पर्यटन क्षेत्र युरोबाट विशेष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

लेगार्डले उपभोक्ता मूल्यमा पर्ने असर सामान्य र अल्पकालीन हुने बताएकी छन् । विगतका अनुभवअनुसार यसको प्रभाव ०.२ देखि ०.४ प्रतिशत अङ्कसम्म मात्र हुने अनुमान छ । तर उपभोक्ताहरू पहिले नै मुद्रास्फीतिको चपेटामा परेकाले थप बोझ पर्न सक्ने चिन्ता छ ।

राष्ट्रिय तथ्याङ्क संस्थानका अनुसार नोभेम्बरमा खाद्यान्नको मूल्य वार्षिक रूपमा पाँच प्रतिशतले बढेको थियो, जुन युरोजोनको औसतभन्दा धेरै हो । संसद्ले यस वर्ष मूल्यवृद्धि अनुगमन गर्न र युरो परिवर्तनसँग जोडिएका ‘अन्यायपूर्ण’ मूल्य वृद्धि रोक्न विशेष निरीक्षण संयन्त्र स्थापना गरेको छ ।

यद्यपि विश्लेषकहरू राजनीतिक अनिश्चितताका कारण आवश्यक भ्रष्टाचारविरोधी सुधारहरू ढिलाइ हुने जोखिम रहेको बताउँछन् । एन्जेलोभका अनुसार कम्तीमा एक–दुई वर्ष स्थिर सरकार भए मात्रै युरो क्षेत्रबाट प्राप्त हुने लाभलाई पूर्ण रूपमा उपयोग गर्न सकिनेछ ।