राष्ट्रिय भलिबलमा हेल्प नेपाल क्वाटरफाइनलमा


काठमाडौँ ।  राजधानीमा जारी राष्ट्रिय एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा हेल्प नेपाल क्लबले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार  भएको पुरुषतर्फको खेलमा हेल्प नेपालले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोतिगाको क्वाटरफाइनमा स्थान बनाएको हो । 

तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले मणिमुकुन्द भलिबल क्लबमाथि पहिलो सेट २५–१६, दोस्रो सेट २५–१९ तथा तेस्रो सेट २५–२२ ले पाखा लगाउँदै जित हासिल गर्यो । समूह ‘ए’ को पहिलो खेलमा हेल्प नेपालले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । 

यसैगरी आजै भएको महिलातर्फको दुई खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । एपिएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको हो । एपिएफले सुदूरपश्चिममाथि २५–६, २५–११ र २५–१२ अङ्कको जित निकाल्यो ।

त्यस्तै विभागीय टोली आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मी २५–१६, २५–१२ र २५–९ अङ्कका साथ विजयी भएको हो ।