निर्वाचन आचारसंहिता स्वीकृत : के-के गर्न पाइन्छ, के गर्न पाइन्न ?


काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबारको बैठकले आचारसंहिता स्वीकृत गरेको हो । आचरसंहितामा निर्वाचनमा एक उम्मेदवारले चुनावी प्रचार प्रसार गर्दा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने उल्लेख छ ।

आचारसंहितामा भनिएको छ, ‘निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा दुई वटा दुई पाङ्ग्रे वा तीन पाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चार वटा घोडा प्रयोग गर्न सक्ने ।’

त्यस्तै एउटा दल वा उमेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न पनि नपाउने भएका छन् । आयोगले आचारसंहिता आर्टिफिसियल इन्टिलिजेन्स (एआई)लाई पनि समेटेको छ ।

आचारसंहितामा भनिएको छ, ‘सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच)जस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नहुने ।’

त्यस्तै कुनै प्रयोजनका निम्ति प्रकाशित वा प्रसारित सूचना/सामग्रीलाई एआईको प्रयोग गरी÷नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरेर सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, सेयर, कमेन्ट वा प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सनलगायत कार्य पनि गर्न नहुने उल्लेख छ ।

निर्वाचनको प्रचारप्रसार गर्दा दल तथा उमेदवारले विद्यालय र विश्वविद्यालयको क्षेत्र प्रयोग गर्न पाउने छैनन् । आचारसंहितामा भनिएको छ, ‘कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने ।’

त्यस्तै घर वा जग्गा धनीको स्वीकृति नलिई कसैका निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न वा गराउन पाइने छैन । त्यसैगरी राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित पहिरन वा स्टीकरलगायत सांकेतिक सामग्री उत्पादन, प्रयोग र बिक्री वितरण तथा प्रदर्शन गर्न/गराउन पाइने छैन ।

आचारसंहितामा भनिएको छ, ‘राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ब्याज, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने ।’

त्यसैगरी सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नपाइने आचारसंहितामा उल्लेख छ ।