अमेरिका, इजरायल र युरोपसँग इरान एक्लै लडिरहेको राष्ट्रपति पेजेस्कियानको दावी


तेहरान । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले शनिबार प्रकाशित एक अन्तर्वार्तामा अमेरिका, इजरायल र युरोपले आफ्नो देशविरुद्ध ‘पूर्ण युद्ध’ गरिरहेको बताएका छन् ।

“मेरो विचारमा, हामी संयुक्त राज्य अमेरिका, इजरायल र युरोपसँग पूर्ण युद्धमा छौँ । उनीहरू हाम्रो देशलाई घुँडा टेकाउन चाहन्छन्,” उनले भने ।

इजरायल र अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेको छ महिनापछि पेजेस्कियानले सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको आधिकारिक वेवसाइटमा प्रकाशित एक अन्तवार्तामा भनेका छन्।

गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घले आणविक कार्यक्रमसँग जोडिएको मुद्दामा इरानमाथि लगाएको प्रतिबन्धको पछाडि फ्रान्स, बेलायत र जर्मनीको हात रहेको दावी गरिएको छ।

“यो युद्ध इराकले हामीविरुद्ध सुरु गरेको युद्धभन्दा पनि खराब छ । नजिकबाट नियाल्ने हो भने यो निकै जटिल र कठिन छ,” छिमेकी मुलुकहरूबीच सन् १९८० देखि सन् १९८८ सम्म चलेको द्वन्द्वतर्फ सङ्केत गर्दै उनले भने ।
संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले इरानले आणविक हतियार प्राप्त गर्न खोजेको आरोप लगाउँदै आएका छन्, जसलाई तेहरानले बारम्बार अस्वीकार गर्दै आएको छ।

कट्टर शत्रु इजरायल र इरानबीच गत जुनमा १२ दिने युद्ध भएको थियो, जुन इरानी सैन्य र आणविक स्थल र नागरिक क्षेत्रहरूमा एक्कासी भएको इजरायली आक्रमणको कारण सुरु भएको थियो।

इरानी अधिकारीहरूका अनुसार आक्रमणमा एक हजारभन्दा बढी हताहत भएका थिए भने संयुक्त राज्य अमेरिका तीन आणविक साइटहरूमा बमबारी गरेर इरानको आणविक कार्यक्रमविरूद्धको कारबाहीमा सामेल भएको थियो ।

वाशिङ्टनको संलग्नताले तेहरानको आणविक कार्यक्रमका विषयमा गत अप्रिलमा सुरु भएको वार्ता अवरुद्ध भएको थियो ।

गत जनवरीमा ह्वाइट हाउसमा फर्किएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इरानविरुद्ध तथाकथित ‘अधिकतम दबाब’ को नीतिलाई पुनः सुरु गरेका छन् ।

दवावको यो नीतिमा इरानलाई आर्थिक रूपमा कमजोर बनाउन र विश्व बजारमा तेलको बिक्रीबाट आर्जन हुने राजस्व सुकाउन तेहरानमाथि थप प्रतिबन्धहरू लगाइएको छ।