जेलेन्स्की आइतबार फ्लोरिडामा ट्रम्पसँग भेट्ने


बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको युद्ध अन्त्यका लागि भइरहेको प्रयासको क्रममा आइतबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उच्चस्तरीय भेटवार्ता हुने बताएका छन् ।

जेलेन्स्कीका अनुसार भेटवार्ता अमेरिकामार्फत अगाडि बढाइएको शान्ति योजना तथा अमेरिकी सुरक्षा प्रत्याभूतिसम्बन्धी छुट्टाछुट्टै प्रस्तावमा केन्द्रित रहनेछ। तर एक वरिष्ठ रूसी अधिकारीले उक्त योजना, रुस र अमेरिकाबीच भइरहेका वार्तासँग ‘मूलतः भिन्न’ रहेको टिप्पणी गरेका छन् ।

मस्कोले वार्तामा ‘ढिलो तर स्थिर प्रगति’ भइरहेको बताउँदै आएको छ। यद्यपि, यदि रुस पनि पछि हट्ने हो भने डोनबास क्षेत्रबाट युक्रेनी सेना फिर्ता लिन तयार रहेको जेलेन्स्कीको प्रस्तावबारे उसले प्रतिक्रिया दिएको छैन।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण–स्तरीय आक्रमण सुरु गरेको हो। अहिले मस्कोले डोनेट्स्कको करिब ७५ प्रतिशत तथा लुहान्स्कको झण्डै ९९ प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको छ। यी क्षेत्रलाई संयुक्त रूपमा ‘डोनबास’ भनिन्छ।

युक्रेनले शान्ति सम्झौताका लागि अमेरिकी सुरक्षा प्रत्याभूति खोजिरहेको छ भने जेलेन्स्कीले डोनबासका केही क्षेत्रलाई असैनिकीकृत ‘स्वतन्त्र आर्थिक क्षेत्र’ का रूपमा व्यवस्थापन गर्ने विकल्पसमेत प्रस्तुत गरेका छन्। उनका अनुसार २० बुँदे शान्ति योजना करिब ९० प्रतिशत पूरा भइसकेको छ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘हामीले उच्चस्तरीय भेटवार्ताको सहमति गरेका छौं। नयाँ वर्षअघि नै धेरै विषयमा टुंगो लाग्न सक्छ।’