-नारायण गाउँले ।
एमालेबाट महेश बस्नेत र कांग्रेसबाट गगन थापा सबैभन्दा पहिले बाहिर निस्केका थिए । दुबैको शैली, प्रस्तुति र निष्कर्ष विपरीत थियो । महेश बस्नेत जेनजी विद्रोह पूर्णतः गलत र परिचालित हो भन्दै प्रतिवादमा उभिएका थिए । गगन थापाले त्यो विद्रोह देशभरका युवाहरूमा राजनीतिप्रति जागेको आक्रोशको विस्फोटन भन्दै दलहरूले त्यसलाई बुझ्नुपर्ने निष्कर्षमा थिए ।
महेश बस्नेतले एमालेलाई आफ्नो वैचारिक कित्तामा बलियोसँग उभ्याए । ओलीको विजय जस्तो देखिए पनि यतिबेला एमालेलाई खुट्टा टेकाउने महेश बस्नेत नै हुन् । अलोकतान्त्रिक भनेर टिप्पणी गरिने एमालेले समयअघि नै नेतृत्वको पुनर्परीक्षण गर्यो । एमाले सङ्गठन कांग्रेसभन्दा सानो छैन । बसमा जाँदा ४ दिन लाग्ने हुम्लासम्म सङ्गठन भएको दलले खुरुखुरु महाधिवेशन गरिसक्यो । ऊ चुनावको तयारीमा लागिसक्यो । सही या गलत भन्ने कुरो अलग हो । तर सुरुको दिनदेखि एमालेले संसद् विघटन गलत छ भनेको छ, आधिकारिक रूपमै अदालत गएको छ र त्यो विद्रोहलाई मान्यता दिएको छैन । जे छ त्यो देखाएको छ ।
लोकतन्त्रमा कम्तिमा आफ्नो कित्ता क्लियर भएपछि मतदातालाई सजिलो हुन्छ । एमालेको कित्ता मन नपरे जनताले निर्णय लिन सक्छन् । तर गगन थापाले कांग्रेसलाई आफ्नो वैचारिक कित्तामा उभ्याउन सकेनन् । उनका सन्तुलित र समन्वयकारी प्रस्तुतिले सुरुका दिनमा कांग्रेसप्रति आममनोविज्ञान फेरिएको र सकारात्मक बन्दै गएको देखिएको थियो । तर त्यो मोमेन्टम सेलाइसकेको छ । आज कांग्रेसमा त्यो विद्रोह सही थियो या गलत भन्नेमै अलमल छ । संसद विघटन सही या गलत छुट्याउन सकेको छैन । विघटनलाई स्वीकार पनि गर्ने अनि आफ्ना भरियालाई पुनस्र्थापनाको रिटसमेत हाल्न लगाउनेजस्तो हास्यास्पद काम भएको छ । न अबको राजनीति यस्तो हुन्छ भनेर कुनै आधार प्रस्तुत गर्न लागेको छ न घोषणा गरेको महाधिवेशन पूरा गर्न । न कुनै मुद्दा छ न कुनै स्पष्ट विचार ! न गतिविधि छ न जाँगर ।
नयाँ र अनुभव नै नभएको सरकारले कानुन समेत फेरेर देशभर चुनावको तयारी गरिसक्यो । एमालेले महाधिवेशन सकि नै सक्यो । अस्तिभर्खर जेलबाट बाहिर आएका रवि लामिछानेले तीनतिर मुख फर्किएका नयाँहरूलाई एक ठाउँ ल्याइसके । कांग्रेसचाहिँ महाधिवेशन गर्ने, नगर्ने, विशेष गर्ने, होइन नियमित गर्ने, अहिले गर्ने, भोलि गर्ने, चुनावपछि गर्ने जस्तो वादविवादमा मनोरञ्जन लिँदै छ । देशका मुद्दामा छिर्ने फुर्सत उसलाई छैन । महाधिवेशन पनि समयमा गर्न नसक्ने दलले देशको कुन समस्या समयमै हल गर्ला र ?
अब विश्वप्रकाश शर्माजस्ता लाभको पद नलिएका र बद्री पाण्डेजस्ता तुलनात्मक रूपमा युवानेताहरू चुनाव नलड्ने र प्रकाशशरण महत र आरजूहरूमात्रै चुनाव लड्ने स्थिति देखिँदै छ । देशको लोकतन्त्र स्थापनामा सबैभन्दा ठूलो योगदान दिएको दल नेपाली कांग्रेस आज असान्दर्भिक बन्दै गएको छ । लिङ्ग नछुट्टिएको भन्ने आरोप सधैँ एमालेलाई लाग्ने गथ्र्यो । आज कांग्रेसलाई हेर्दा त्यस्तै लाग्छ ।
न नेतृत्व नयाँ छ, न नीति नयाँ छ । न मुद्दा र एजेन्डा स्पष्ट छन् न महाधिवेशन गरेर युवाहरूलाई अघि बढाइएको छ । न वैचारिक स्पष्टता छ न कुनै आशा र सपना छ । अल्छी लागी लागी सरकारी जागीर खाएजस्तो अनि तलबको लोभमा हट्न नसकेर अर्कोलाई आउन पनि रोकेजस्तो मात्रै देखिन्छ । यो दललाई के भनेर भोट हाल्लान् र मान्छेले !

प्रतिक्रिया