होन्डुरसको राष्ट्रपतिमा अस्फुरा निर्वाचित


बीबीसी । प्राविधिक समस्या र धाँधलीको आरोपलगायतका कारण हप्तौँदेखि अल्झिएको होन्डुरसको राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएको छ। राष्ट्रिय निर्वाचन परिषदका अनुसार नेसनल पार्टीका उम्मेदवार नास्री अस्फुरा विजयी भएका छन्।

अस्फुराले ४०.३ प्रतिशत मत प्राप्त गर्दै झिनो अन्तरले अग्रता कायम राखे। उनका प्रतिस्पर्धी लिबरल पार्टीका साल्भाडोर नास्रालाले ३९.५ प्रतिशत मत पाए। अस्फुरालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुला समर्थन गरेका थिए ।

परिणाम घोषणा भएपछि एक्समा प्रतिक्रिया जनाउँदै अस्फुराले भने, ‘होन्डुरस, म शासन गर्न तयार छु। म तपाईंलाई निराश पार्नेछैन।’

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सबै पक्षलाई परिणाम स्वीकार गर्न आग्रह गर्दै शान्तिपूर्ण सत्तान्तरणका लागि सहयोग गर्न सुझाव दिएका छन्। तर होन्डुरसका प्रतिनिधिसभा अध्यक्ष लुइस रेडोन्डोले उक्त परिणामलाई ‘पूर्ण रूपमा अवैध’ भनेका छन्।

गत नोभेम्बर ३० मा भएको मतदानको मतगणना प्राविधिक अवरोधका कारण दुईपटक रोकिएको थियो ।