म्याग्दीकी कर्णकुमारीले सुन्तला बेचेर ठडाइन् पक्की घर


 म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर सुरु गरेको पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै सम्पन्न हुँदैछ ।

उमेरले ७२ वर्ष पुगेकी कर्णकुमारीले गत वर्ष सुन्तला बेचेर कमाएको १५ लाख रुपैयाँसहित आफूसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा रङरोगन भइरहेको छ । यस वर्ष उनको बारीमा १० लाख रुपैयाँभन्दा बढीको सुन्तला फलेको छ ।

कर्णकुमारीले फलाएको सुन्तलाको दुई वर्षको कमाइबाट घर ठडिन्छ । सुन्तलाबाट पर्याप्त आम्दानी हुन थालेपछि उनको पहिलो रोजाइमा घर निर्माण परेको हो । यसअघि उनको कच्ची घर जीर्ण अवस्थामा रहेको थियो ।

श्रीमान्‌को निधनपछि जोत्ने हलगोरु र काम गर्ने खेताला खोज्न झन्झट लागेर सुन्तलाखेती गरेकी कर्णकुमारीको बगैँचा अहिले पहेँलपुर छ । मकै, कोदो, गहुँजस्ता परम्परागत खेतीबाली लगाउन छाडेर करिब २० वर्ष अगाडि सुन्तलाका केही थान बिरुवा ल्याएर खेती सुरु गरेकी कर्णकुमारीले पहिलो उत्पादन बेचेर एक हजार ६०० कमाएकी थिइन् । सुन्तलाबाट एक सय, एक हजार रुपैयाँ हुँदै १५ लाख रुपैयाँसम्म बुझ्ने गरेकी छिन् । अहिले कर्णकुमारीको १० रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ ।

कुनै वर्ष रोगले सुन्तला सखाप हुँदा निराश भए पनि हरेस नखाएकी कर्णकुमारीको दैनिकी सुन्तला बगैँचामै बित्ने गरेको छ ।

‘आफ्ना सन्ततिलाई जस्तै गरी सुन्तलाको बोटलाई स्याहार गर्छु, मलाई खुसी दिने यही सुन्तलाका बोट बनेका छन्, बूढेसकालमा पनि मेरो दैनिकी सुन्तलासँगै चलेको छ,’ उनले भनिन् । गत वर्षको तुलनामा कम फले पनि उत्पादनबाट सन्तुष्ट रहेको कर्णकुमारी बताउँछिन् ।

रोजगारीको सिलसिलामा अफगानिस्तान पुगेका श्रीमान्‌को २०६७ सालमा आतङ्ककारीको आक्रमणबाट निधन भएपछि घर व्यवहार धान्न हम्मेहम्मे परेको कर्णकुमारीले बताइन् । सुन्तलाले दैनिकी सहज बनाएको उनको भनाइ छ । सुन्तलाको कमाइले छोरीहरूको शिक्षादीक्षा, विवाहलगायतका घरायसी खर्चसँगै बचतसमेत गरेको कर्णकुमारीले बताइन् ।

‘आफ्नो संसार उजाडिएपछि मलाई बाँच्न सुन्तलाले सिकाएको छ, सुन्तलाले आर्थिक रुपमा बलियो बनाएको छ,’ कर्णकुमारीले भनिन् ।

सुन्तलाखेती बूढेसकालको सहारा बनेको छ । घरखर्च चलाउन श्रीमान्, सन्तानमाथि निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न फलफूल र तरकारीखेती गरे पुग्ने कर्णकुमारीको सुझाव छ । उनी मरेक गाउँमा सबैभन्दा धेरै सुन्तला फलाउने कृषकको रूपमा चिनिन्छन् । सुन्तला खरिदका लागि आएका व्यापारीले समेत कर्णकुमारीको बगैँचालाई पहिलो रोजाइमा पार्ने गर्दछन् ।