बीबीसी । अस्ट्रेलियामा रहेका एकजना ब्रिटिश नागरिकको भिसा रद्द गरिएको छ । नाजी प्रतीकहरू प्रदर्शन गरेको अभियोगमा उनलाई देश निकाला गर्न लागिएको हो । क्वीन्सल्यान्डमा बस्ने ४३ वर्षे ती पुरुषलाई यो महिनाको सुरुमा पक्राउ गरेर अभियोग लगाइएको थियो ।
नाजीको स्वस्तिक चिन्ह सामाजिक सञ्जालमा पोस्ट गरेको, नाजी समर्थक सिद्धान्तहरूको प्रचार गरेको र यहुदी समुदायप्रति हिंसाको आह्वान गरेको आरोप उनीमाथि लागेको हो ।
उनलाई यो साता ब्रिजबनस्थित अध्यागमनको हिरासतमा पुर्याइएको थियो र अब उनले जनवरीमा अदालतको सामना गर्नुपर्ने छ। हालै यहुदीविरोधी र दक्षिणपन्थी अतिवादमा वृद्धि भइरहेका घटनामाझ प्रहरीले प्रतिबन्धित प्रतीकहरूको प्रयोगमाथि कडाइ गर्दै आएको छ।
गृहमन्त्री टोनी बर्कले भनेः ‘उनी यहाँ घृणाका लागि आएका थिए – उनी यहाँ बस्न पाउँदैनन्।’ गत महिना, बर्कले दक्षिण अफ्रिकी नागरिक म्याथ्यू ग्रुटरको भिसा रद्द गरिदिए। सन् २०२२ यता अस्ट्रेलियामा बस्दै आएका उनी न्यू साउथ वेल्सको संसद् भवनअगाडि नियोनाजी र्यालीमा भाग लिइरहेको देखिएका थिए ।
ग्रुटरजस्तै ब्रिटिश पुरुषले पनि आफ्नो भिसा रद्द गर्न अपिल गर्न सक्छन्। उनी आफैँ अस्ट्रेलिया छोड्न सक्छन् वा देश निकालाका लागि पर्खिन सक्छन्।
प्रहरीले ती व्यक्तिलाई देश फिर्ता पठाउन ढिला गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गरिरहेको बुझ्न सकिन्छ। त्यसो गर्दा ती व्यक्तिले अर्को महिना अदालतको सामना गर्नुपर्ने छ ।
यो वर्षको सुरुमा अस्ट्रेलियाले घृणासम्बन्धी अपराध कानुनलाई कडा बनाएको थियो। घृणाको प्रतीक देखाउने वा नाजी सलाम गर्ने जस्ता कार्यका लागि अनिवार्य रूपमा जेलमा बस्नुपर्ने व्यवस्था उक्त कानुनले गरेको थियो ।
सामाजिक सञ्जाल एक्समा गरेको पोस्टपछि प्रहरीले गत अक्टोबरमा उनीमाथि अनुसन्धान थालेको थियो। एक्सले उनको अकाउन्ट ब्लक गरिदिएको थियो। त्यसपछि उनले त्यही नामको नयाँ अकाउन्ट खोलेको र त्यहाँ पनि उनले आपत्तिजनक र हानी पुग्ने सामग्री पोस्ट गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया