ट्रम्पलाई झट्का, सर्वोच्चले शिकागोमा नेशनल गार्ड तैनाथी रोक्यो


वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हालका लागि शिकागो क्षेत्रमा नेशनल गार्ड तैनाथ गर्न नदिने निर्णय गरेको छ ।

राज्य नेताहरूको आपत्तिका बाबजुद देशका विभिन्न सहरहरूमा सेना परिचालन गर्ने ट्रम्पको प्रयासमा यसलाई ठूलो झट्का मानिएको छ । अदालतको आदेशमा नेशनल गार्डलाई संघीय नियन्त्रणमा ल्याउने राष्ट्रपतिको अधिकार ‘असाधारण परिस्थितिमा मात्र’ प्रयोग गर्न सकिने उल्लेख छ ।

न्यायाधीशहरू स्यामुएल एलिटो, क्लारेन्स थोमस र नील एम. गोरसचले आदेशप्रति असहमति जनाएका छन् भने न्यायाधीश ब्रेट एम. काभानाफले छुट्टै मत राखेका छन्।

शिकागोसम्बन्धी यो मुद्दा ट्रम्पले नेशनल गार्ड तैनाथ गर्न खोजेको विषयमा सर्वोच्च अदालतले पहिलो पटक धारणा सार्वजनिक गरेको हो। आदेश अस्थायी भए पनि, अपराध नियन्त्रण र आप्रवासन कार्यान्वयनका नाममा सेना परिचालन गर्ने ट्रम्पको लगभग असीमित अधिकारको दाबीलाई अदालतले अस्वीकार गरेको अर्थमा यसका दीर्घकालीन प्रभाव पर्ने देखिन्छ।

यो निर्णयले पोर्टल्यान्ड जस्ता स्थानमा स्थानीय तथा राज्य सरकारले दायर गरेका समान मुद्दाहरूमा तल्लो अदालतहरूको निर्णयलाई समेत प्रभाव पार्न सक्छ। तर संघीय सरकारको विशेष भूमिकाका कारण वासिङ्टन डी.सी. मा भएको नेशनल गार्ड तैनाथीमा भने यसको तत्काल प्रभाव सीमित हुन सक्छ।