-डा. गोविन्दशरण उपाध्याय ।
सबैको दाम्पत्य जीवन सुखी हुनुपर्छ । महर्षि पतंजलीके योगसूत्रको रचना गरेर मानवीय जीवनको लागि शारीरिक, मानसिक तथा अध्यात्मिक शान्ति, सुख, आनन्द र सन्तोषको अभ्यास गर्ने अभ्यास सिकाएका छन् । तर संसार चलाउने दम्पतिले हो र सुखी दाम्पत्य जीवन सबैतिर खोजिने गन्तव्य हो, तर कमै दम्पतिले दैनिक जीवनमा यसको सूत्रलाई गहिरो रूपमा बुझेका हुन्छन्। दाम्पत्य केवल कानुनी सम्बन्ध वा सामाजिक पहिचान मात्र होइन, चेतना–चेतनाको मिलन र दुई आत्माको साझा यात्रा हो। आर्थिक, शारीरिक वा सामाजिक व्यवस्थाले मात्र घर टिकाउँदैन; मन, भाव र विचारले सन्तुलन कायम गर्नुपर्ने हुन्छ। यही सन्तुलनको मूलमा ध्यान बस्छ, जसले मनलाई विश्राम र चेतनालाई उज्यालो बनाउँछ।
विश्वका हरेक दम्पतिका तीनबटा लक्ष हुन सक्छन्ः सुख, पूर्णता र सन्तोष । अशान्त दाम्पत्यमा यी तीनै कुरा सम्भव छैनन् । ध्यानले पतिपत्नीका विचको मधुर सम्बन्धलाई अझै मधुर बनाउन मदत गर्छ भने विग्रिएको सम्बन्धलाई पुनःस्थापित गर्न सहयोग गर्छ । मानसिक तनाव धेरै असमझदारीको जड हुन्छ तर हरेक दिन १०–१५ मिनट ध्यान गर्दा अशान्त मनले राहत पाउँछ । राहत पाएको मनले सकारात्मक बाटो पहिल्याउन्छ ।
हामी नेपाली दम्पति त झन् ध्यानका आविष्कारक महान् योगीहरूका उत्तराधिकारी हौँ । धेरैजसो ऋषिमुनि÷ऋषिकाहरूले वन वा तीर्थस्थल वा अन्य ठाउँमा दूवै दम्पति बसेर ध्यान, समाधिको अभ्यास गरेर सिद्धि प्राप्त गरेका अनेकौं उदाहरण छन् । ऋषि परम्पराको उत्तराधिकार प्राप्त नेपाली दम्पतिहरूले विश्वका दम्पतिहरूलाई सरल, सहज, खुसी, आनन्दित र अर्थपूर्ण जीवनको लक्ष प्राप्त गर्न ध्यानको अभ्यास गराउने दायित्व स्वीकार गर्नुपर्छ ।
हरेक पतिपत्नीले दैनिक १० देखि १५ मिनट ध्यान गरौँ तर संगै गरौँ । सुरुमा पलेटी कसेर बस्न गाह्रो पर्न सक्छ तर अभ्यास गर्दैजाँदा सजिलो हुन्छ । फेरी पलेटी कसेर बस्ने पर्छ भन्ने छैन जसरी तपाईंलाई सजिलो हुन्छ तेसरी नै बस्नुस् । आसपासमा होल्ला र अशान्तिको वातावारण नहोस् र आगामी १५ मिनट तपाईंलाई कसैले असजिलो नपारोस् । सहज तर लामो स्वासप्रश्वास लिने अनि क्रमशः कुनै पनि प्रतिक्रिया नगरी मनलाई शान्त राखेर केवल मूटूको धड्कन सुन्ने प्रयत्न गर्ने ।
दाम्पत्यमा धेरै समस्याहरू बाहिर देखिने कारण जस्तै आर्थिक संकट, गलतफहमी, यौन असन्तुलन, अहङ्कार, सम्बादको अभाव, वा परिवार–समाजको दबाबजस्ता तत्वले उत्पन्न भएझैँ लागे पनि, वास्तविक समस्याको जड मनको अस्थिरता र अवचेतनमा दबिएका भावनाहरूमा हुन्छन्। मानिस जब तनावग्रस्त हुन्छ, मस्तिष्क निरन्तर ‘फाइट–फ्लाइट’ अवस्थामा रहन्छ, हर्मोन असन्तुलित हुन्छन्, सहनशीलता घट्छ, र व्यवहार आक्रामक वा उदास बन्न थाल्छ। यस्तो अवस्थामा दाम्पत्य सम्बन्धमा सूक्ष्म समस्याहरू देखिन थाल्छन् जसले मनको दूरी बढाउँछ ।
ध्यान भनेको केवल आँखामुन्दै बस्ने क्रिया होइन, आत्मा–मन–शरीरलाई एकसाथ शान्त, सचेत र निरपेक्ष बनाउने अभ्यास हो। जब पति–पत्नीले संयुक्त रूपमा ध्यान गर्छन्, दुवैको मनको कम्पन क्रमशः समान आवृत्तिमा मिल्दै जान्छ। वैज्ञानिक अनुसन्धानहरूले देखाउँछन् कि संयुक्त ध्यानले मिरर–न्यूरोन सक्रिय हुन्छन्, सहानुभूति बढ्छ, हृदय–धडकनको लय समायोजन हुन्छ, र शरीरमा अक्सिटोसिन social bonding hormone) बढेर निकटताको अनुभूति उत्पन्न हुन्छ। दैनिक केवल १५ मिनट ध्यानको अभ्यास गर्ने हो भने दाम्पत्य जीवनमा अद्भूत तर सकारात्मक परिवर्तन अनुभव गर्न सकिन्छ ।
दाम्पत्यमा धेरै विवादहरू बोलिएका शब्दहरूकै कारण हुँदैनन्, दविएका भावनाहरूका कारण जन्मिन्छन्। मनभित्र एड्रेस नगरिएका पीडा, अपूरा अपेक्षा, वा आफूभित्रकै दोषप्रतिको अपराधबोधले ,सकारात्मक सम्बन्धको ऊर्जालाई खाईदिन्छ। ध्यानले मानिसलाई आफ्नै मनतिर फर्किन, विचारहरूको मूल खोज्न र अवचेतनमा सञ्चित भावनालाई स्वीकार्न सक्षम बनाउँछ। दुवैले आफ्नो–आफ्नो अन्तरिक मनोभूमिमा प्रवेश गरेर निस्सार समस्याहरू अर्थात् मनका गाँठाहरू तोड्न सकेपछि मात्र दाम्पत्य आनन्द स्वतः फूलझैँ फक्रिन्छ।
ध्यान अभ्यासमा सबैभन्दा पहिले साँसप्रति सजगता आवश्यक हुन्छ। पति–पत्नी नजिकै बस्ने, एकअर्काको उपस्थिति मात्र स्वीकार्ने, र केही मिनेट मौन बस्ने – यति साधारण अभ्यासले पनि धेरै परिवर्तन ल्याउन सक्छ। साँस प्रवेश–निर्गमको ध्यान गर्ने क्रममा शरीरको तनाव पग्लिन थाल्छ, मन शान्त हुँदै जान्छ र चेतनामा करुणा, क्षमा र स्वीकारको भाव फुल्छ।
ध्यानले दाम्पत्यमा तीन गहिरा परिवर्तन ल्याउँछ। पहिलो, प्रतिक्रियात्मक व्यवहार घट्छ र उत्तरदायी व्यवहार बढ्छ। मन सजग भएपछि झगडा वा असहमतिको क्षणमा पनि व्यक्ति आवेगमा प्रतिक्रिया नदिई सोचेर बोलेर उत्तर दिन्छ। यसले अनावश्यक चोटहरू र गलतफहमी घटाउँछ।
दोस्रो, भावनात्मक निकटता बढ्छ। ध्यानले मन खुला बनाउँछ, हृदय सजग हुन्छ, अहंकार पग्लिन थाल्छ। दुवै जना एकअर्कासँग सहज रूपमा व्यक्त हुन सक्छन्। भावनात्मक निकटता यौन सम्बन्धभन्दा गहिरो बल हो, जसले क्षमा, समर्पण र प्रेमलाई सहज रूप दिन्छ।
तेस्रो, आध्यात्मिक सहयात्राको अनुभव हुन्छ। दाम्पत्य केवल संसारको व्यवस्थापन मात्र होइन, आपसी आत्मोन्नति र आत्मबोधको मार्ग पनि हो। हिन्दू वैवाहिक संस्कारमा पनि सप्तपदीको मन्त्रहरू जीवन यात्रा, जिम्मेवारी र पत्नीपतिको संकल्पसँग जोडिन्छ। ध्यान यो संकल्पलाई मन–चेतनामा स्थिर बनाउने साधन हो।
ध्यानले दाम्पत्यमा आन्तरिक सम्बादलाई पनि स्वस्थ बनाउँछ। सामान्यतया संचार दुई स्तरमा हुन्छ – शब्दीय र अव्यक्त (nonverbal)। धेरैजसो समस्याहरू अव्यक्त संकेत, आवाजको टोन, अनुहारको हावभाव, र निष्क्रिय आक्रोशका कारण उत्पन्न हुन्छन्। ध्यानले मनमा उपस्थित तनाव हटाइदिँदा आपसी संचार सहज र पारदर्शी बन्छ। दुवैले एउटै कुरा फरक ढंगले बुझ्ने सम्भावना घट्छ।
ध्यानका अभ्यासहरू भिन्न हुन सक्छन्। साँस–ध्यान, मन्त्र–जप, एकअर्काको आँखामा मौन हेरिरहनु, संयुक्त प्रार्थना, घरमा दीप बालेर मौन बस्नु, वा प्रकृतिको काखमा अथवा अन्य शान्त वातावरणमा हात समाएर हिंड्नु – यी सबै ध्यानका रूप हुन्। ध्यानको मूल भनेको बाहिरी आवाज चुप पारेर अन्तर्यात्रामा प्रवेश गर्नु हो।
ध्यानले यौन सम्बन्धमा पनि सकारात्मक प्रभाव पार्छ। जब मन तनावमुक्त र शरीर हल्का हुन्छ, दुवै सहज रूपमा अन्तरंगता अनुभव गर्न सक्छन्, अपेक्षा र पीडा कम हुन्छ, र प्रेमको अभिव्यक्ति निर्माणात्मक बन्छ। दबाब, अधिकारचेत वा दायित्वको बोझ होइन, आत्मीयता र सहऋदयताबाट सम्बन्ध गहिरिन्छ।
ध्यानको अर्को फल सामाजिक–पारिवारिक वातावरणमा देखिन्छ। दाम्पत्य शान्त र सन्तुलित हुँदा बालबालिका सुरक्षित, प्रेमपूर्ण र स्वस्थ वातावरणमा हुर्कन्छन्। परिवारमा करुणा, परस्पर सहायता र आदरको भाव बढ्छ। विस्तारै घर–समाज–राष्ट्रसम्म यसका तरङ्गहरू फैलिन्छन्।
ध्यानले दाम्पत्यलाई पूर्णता दिँदा पनि, मनोवैज्ञानिक दृष्टि र व्यवहारिक अनुशासन आवश्यक नै छ। ध्यान कुनै जादू होइन, तर निरन्तर अभ्यास र परस्पर प्रतिबद्धताले मात्र परिणाम दिन्छ। दुवैले समय निकालेर, दिनमा १०–१५ मिनेट नै सही, संयुक्त ध्यान गर्ने बानी बसाले दाम्पत्यको ऊर्जामा नवीनता आउँछ।
ध्यानमा बस्नकै लागि विशेष पहिरन, स्थान वा विधि अनिवार्य छैन। मुख्य कुरा मनको उपस्थिति, स्वीकार र प्रेमपूर्ण दृष्टि हो। ‘उसले बदलियो भने मात्र म बदलिन्छु’ भन्ने अहंकार त्यागेर ‘हामी दुवै बदलिन सक्छौं’ भन्ने संयुक्त प्रतिज्ञाले ध्यानलाई वास्तविक फल दिन्छ। तर वैदिक, बौद्ध, जैन समुदायका सदस्यहरूले ॐकारको उच्चारणसहित ध्यानको अभ्यास गर्छन् । यो सहज पनि हुन्छ किनभने प्रणवसँग आस्था, विश्वास र संस्कृति जोडिएको हुन्छ ।
दाम्पत्य जीवनको मूल मर्म परस्पर विश्वास, समझदारी, सहिष्णुता र प्रेम हो। यी सबै गुणहरू मनको शुद्धता र चेतनाको जागरणसँग सम्बन्धित छन्। ध्यानले यही बोध र शुद्धताको मार्ग खोल्दिन्छ। जसरी कुवाको शान्त पानीमा शान्त चन्द्रमा प्रतिबिम्बित हुन्छ त्यसरी नै मन शान्त भए मात्र हाम्रो दाम्पत्य जीवनमा खुसी वा आनन्द झल्किन्छ। ध्यान दाम्पत्यको त्यो शान्त झ्याल हो, जहाँबाट हामी प्रेम, करुणा र जीवनसँग पुनः भेट्छौँ। धैर्य, समर्पण र नियमित अभ्यासका साथ दम्पतिहरूले ध्यानलाई दैनिकीमा उतार्न सके भने, सुखी दाम्पत्य केवल सम्भावना होइन, जीवनको बास्तविक भोगाई बन्छ र हामी सबैको चाहना पनि यही हो ।
स्वस्त्यस्तु

प्रतिक्रिया