काठमाडौँ । सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार एचपिभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो ।
सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखा र युनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइएको हो ।
कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोप कार्यक्रमका लागि करिब सम्पूर्ण तयारी भएको बताए । उनले भने, ‘खोप दिने समयमा निर्वाचन तथा चाडपर्वले केही प्रभावित बनाउन सक्ने भन्ने आकलन छ, तथापि माघको अन्तिमबाट सुरु गरेर फागुनको पहिलो साता अभियान सम्पन्न गर्ने योजनासहित तयारी गरिएको छ । यसबारे थप जानकारी र मिति छिट्टै सार्वजनिक गरिने छ ।’
शाखा प्रमुख डा गौतमका अनुसार कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ । गत वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई खोप दिएको थियो । गत वर्ष दुई मात्राको खोप रहेकामा यस वर्ष भने एक मात्रा मात्र दिइने छ ।
‘विभिन्न वैज्ञानिक प्रमाण र खोप सल्लाहकार समितिका अनुसार एक मात्राको खोप लगाए पनि त्यसको प्रभावकारिता हुने भनिएपछि यसपटक एक मात्रा मात्र दिन लागेका हौँ’, डा गौतमले भने,’कुनै भ्रम र गलत सूचनामा विश्वास नगरी ढुक्क भएर खोप लगाउन लक्षित वर्गलाई हाम्रो आग्रह छ ।’
बढीभन्दा बढीलाई खोप कार्यक्रममा सहभागी हुनका लागि विगतका सिकाइका आधारमा सचेतना फैलाउने काम भइरहेको उनले सुनाए ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा औसतमा प्रत्येक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको त्यस अवसरमा जानकारी दिइयो । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको संक्रमण हुनु हो । सरकारले हाल १४ वटा रोगविरुद्ध ११ प्रकारका खोप दिँदै आएको छ ।
डा गौतमले नेपालले खोप ‘कभरेज’को हिसाबले विकसित मुलुकको तुलनामा पनि उल्लेखनीय प्रगति गरेको सुनाउँदै खोपप्रति मानिसको सकारात्मक धारणा बनाउन सके यसलाई अझै बढाउन सकिने बताए ।

प्रतिक्रिया