तस्बिरमा हेर्नुस् सरकारविरुद्ध मिराज नेतृत्वको जेनजी समूहको प्रदर्शन


काठमाडौँ । मिराज ढुंगााना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । सरकारविरुद्ध ढुंगानाको समूहले बिहानदेखि माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

जेनजीका माग पूरा नगरेको भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । त्यसक्रममा प्रहरीले मिराज ढुंगाना, रविकिरण हमाल, अजय सोडारीलगायतलाई पक्राउ गरेको छ ।

प्रदर्शनका कारण माइतीघर, थापाथली, बबरमहललगायतका क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ भने त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मिराज समूहले आइतबार पत्रकार सम्मेलन गरी सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो ।

मिराजले सरकारले जबर्जस्ती राजदूत फिर्ता गर्दा अदालतको अवहेलना गरेको, सरकार नै जेनजीहरूलाई नै आक्रमण गर्ने, धरपकड गर्ने काममा लागेको, दशौँ वर्षदेखि अड्किएका भ्रष्टाचारका फाइल खोल्न नसकेको, अहिले पनि नियुक्ति र सरूवामा ठेक्का चलेको, शान्तिपूर्ण आन्दोलनलाई दमन गरेको, निजी क्षेत्रलाई आस्वस्त पार्न नसकेको, यही देशमा बस्नुपर्छ भनेर आन्दोलन गर्नेहरूलाई विदेश पठाउने निर्णय गरेको, ठूला भ्रष्टाचारमा संलग्नहरूलाई अहिलेसम्म कारबाही गर्न नसकेको, राजनीतिक निकासका लागि संविधान संशोधन गर्नुपर्नेमा त्यसो गर्न नसकेको आरोप लगाउँदै आएका छन् ।