‘पूर्वराष्ट्रपतिले राजतन्त्र पुनःस्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो’


काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले महाधिवेशन सम्पन्न भएलगत्तै ईश्वर पोखरेले पक्षले छुट्टै भेला गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार बिहान सामाजिक संजालमार्फत ज्ञवालीले महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएको भन्दै महाधिवेशनको फैसला मान्नैपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘हिजो अस्तिका दुई दृश्यले आँखा बिझायो । महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन । महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दा कायमै’ रहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ । यसो हुनुहुँदैन । एकवर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो–केही कमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न । महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुनः अनुमोदित गरेको छ ।’

उनले अब पनि महाधिवेशनपूर्वकै ब्यागेज बोकेर नहिँड्न नेताहरुलाई आग्रह गरे । उनले भने, ‘अब पनि महाधिवेशनपूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ पुगिँदैन । तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याइपुर्याएका छौं । तर जित्नु पर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनैपर्ने संविधान रक्षाको लडाइँ र पार गर्नुपर्ने स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै छ । अब हाम्रो समग्र उर्जा यसमै केन्द्रित हुनुपर्ने होइन र ? पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनःस्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफैं उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?’