प्रधानमन्त्री र रास्वपाका नेताहरुबीचको भेटमा रविमाथि प्रतिशोधदेखि फागुन २१ को निर्वाचनसम्मका विषयमा छलफल


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको भेटमा उनीहरूबीच चुनाव केन्द्रित विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । मन्त्री खरेलले रास्वपाका सभापति लामिछानेसहित पदाधिकारीहरुसँग सकारात्मक वार्ता भएको बताए ।

मन्त्री खरेलले भने, ‘खास गरेर आजको वार्तामा चुनाव केन्द्रित कुराकानी भयो । चुनावलाई कसरी स्वतन्त्र निष्पक्ष र धाँदलीरहित ढङ्गबाट निर्धारित मितिमै गर्न सकिन्छ भन्ने कुराहरुमा विशेष छलफल भयो र त्यसमा हामीले सरकारको तर्फबाट गरिरहेको तयारी, निर्वाचन आयोगले गरिरहेको काम, सुरक्षा निकायको अवस्था यी सबैका विषयमा उहाँहरुलाई जानकारी गरायौँ ।’

रास्वपाका सभापति लामिछानेलगायत पदाधिकारीले चुनाव आगामी फागुन २१ मै हुनुपर्ने, चुनाव निष्पक्ष स्वतन्त्र र धाँदलीरहित हुनुपर्ने तथा चुनावमा रास्वपाले भाग लिने बारेमा स्पष्ट रुपमा कुरा राखेको मन्त्री खरेलले जानकारी दिए ।

रास्वपाका नेता शिशिर खनालले आफूहरुले उम्मेदवारको उमेरहद घटाउने प्रक्रिया अगाडि बढाउन आग्रह गरेको बताए । त्यस्तै फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारीबारे सरकारको ध्यानाकर्षण गराएको बताए ।

त्यस्तै सभापति लामिछानेमाथि लगाइएका मुद्दा र राजनीतिक प्रतिशोधको विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्री भेट्न सभापति लामिछानेसहित रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र सोविता गौतम बालुवाटार पुगेका थिए ।