त्रिवि दीक्षान्त समारोहमा एकै विद्यार्थीलाई तीन पदक


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने एक विद्यार्थीले तीन र दुई विद्यार्थीले दुई/दुई पदक तथा पुरस्कार पाउने भएका छन् ।

त्रिवि परीक्षा नियन्त्रणा कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले बुटवल बहुमुखी क्याम्पस बुटवल स्नातकोत्तर तहमा (अर्थशास्त्र) सर्वोकृष्ट अङ्क ल्याउने कमल पौडेलले तीन पदक र पुरस्कार पाउने भएको जानकारी दिए । उनका अनुसार पौडेलले नै तारापद चौधरी स्वर्ण पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाउने भएका हुन् ।

यही पुस १० गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुँदैछ । समारोहमा त्रिवि केन्द्रीय क्याम्पसमा स्नातकोत्तर तहको अङग्रेजीमा विषयमा सर्वोकृष्ट अङ्क ल्याउने आग्या वाग्ले, राजनीतिशास्त्र विषयमा सर्वोकृष्ट अङ्क ल्याउने प्रतिभा पौडेलले दुई/दुई पदक र पुरस्कार पाउनेछन् ।
वाग्लेले डा मोहनप्रसाल लाखे पुरस्कार र नरेन्द्रमणि आचार्य दीक्षित पुरस्कार तथा पौडेलले वडाकाजी मरिचमान सिं पदक र ललित चन्द पुरस्कार पाउनेछन् ।

भाइस चान्सलर पदक शेर्पालाई

यस्तै २०८० सालको भाइस चान्सलर पदक शङ्करदेव क्याम्पसमा स्नातक तहको परीक्षाफलमा प्रथम भएका फुर्वा शेर्पाले पाउनेछन् । उनले भ्वाइस सत्य माँ स्मृति स्वर्ण पदकसमेत पाउनेछन् ।

त्रिविले दीक्षान्त समारोहमा एमफिलतर्फ एक, स्नातकोत्तर तहमा १६ र स्नातक तहतर्फ आठ पदक तथा पुरस्कार वितरण गर्न थालेको हो । यस्तै त्रिवि प्राध्यापक सङ्घ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन सङ्कायअन्तर्गत एमफिल तहमा सर्वोकृत्ष्ट अङ्क प्राप्त गरेका विशाल जोशीलाई प्रदान गरिनेछ । इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेण्टमा अध्ययनरत एमबिए तहमा सर्वोत्कृष्ट अङ्क प्राप्त गरेकी रक्षा भेटुवालले पाउनेछन् ।

नेबैंलि सरदार गुञ्जमान सिं स्वर्ण पदक एमबिएस परीक्षामा प्रथम हुने शङ्करदेव क्याम्पसका सुनिल पुडासैनीलाई, रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार एमबिएस परीक्षामा महिलामध्ये प्रथम अङ्क ल्याउने सरस्वती क्याम्पकी समिता महर्जनले पाउने भएका छन् ।

यस्तै एमएस्सी माइक्रोबायोलोजीमा प्रथम हुने रवीन्द्र पण्डितले रुद्रकुमारी घिमिरे स्मृति पदक, एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा प्रथम अङ्क ल्याउने आयुष्मा थापामगरलाई डा दुबसु क्षेत्री स्वर्ण पदक प्रदान गरिने भएको छ । शान्ति नारायण मिश्र पदक एमए पुस्तकालय विज्ञानमा प्रथम अङ्क ल्याउने रस्मिता कार्की, नारायण शान्ति मिश्र पदक एमए पत्रकारिता तथा आमसञ्चार विषयमा प्रथम हुने अनुशा रोका, गोविन्द रिजाल प्राज्ञिक उत्कृष्ट पदक कृषि स्नातकोत्तरमा प्रथम हुने श्रृष्टि पोखरेल र सुमन रिजाल पदक एमए समाजशास्त्रमा प्रथम हुने सौरभ कोइरालालाई प्रदान गरिने भएको छ ।

स्नातक तहतर्फ आठ जनालाई २०८० सालको पदक तथा पुरस्कार प्रदान गरिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । स्नातक तहतर्फ बिएचएम (होटल म्यानेजमेण्ट स्नातक) मा प्रथम हुने उवेन्द्रकुमार तामाङलाई प्रितम चित्रकार पुरस्कार, एलएलबिमा प्रथम हुने भावना अधिकारीलाई लोकराज ज्ञवाली पदक, सिभिल इन्जिनियरिङको स्नातक तहमा प्रथम हुने गौरव भुसाललाई शिवराज पन्त स्मृति पुरस्कार, बिबिएस परीक्षामा प्रथम हुने आकाश सुयाललाई नेबैंलि छत्रबहादुर पदक प्रदान गरिने भएको छ ।

यस्तै बिएस्सी माइक्रोबायोलोजीमा प्रथम हुने अग्रनि पौडेललाई टीकाबल्ल्भ डिलकुमारी घिमिरे स्मृति पदक र बिए परीक्षामा महिलामध्ये प्रथम हुने सुभाषी कार्कीलाई ज्ञानप्रसाद पुरस्कार प्रदान गरिने छ । विसं २०८१ असार १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्मको स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि उत्तिर्ण गरेकामध्ये १६ हजार ३८० विद्यार्थीले समारोहमा सहभागिताका लागि आवेदन दिएका छन् ।