तीन करोड बैंक जमानत बुझाएर छविलाल जोशी रिहा


बुटवल । सहकारी ठगी प्रकरणमा कारगारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी रिहा भएका छन् । आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको एकल इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

जोशी तीन करोड बैंक जमानत बुझाएर आइतबार नै रिहा भएका जिल्ला अदालतले जनाएको छ । थुनाबाहिर बस्न पाउँ भनी उनले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, बुटवलले मिसिल पुनः जिल्लामै फिर्ता पठाउने आदेश दिएको थियो ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा उनी थुनामा थिए । उनीसँगै थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भने यही पुस ३ गते उच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो । लामिछाने ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।